भारत विवादले बंगलादेश विश्वकपबाट आउट, समूह ‘सी’ मा स्कटल्याण्ड

by समतल अनलाइन
73Shares

काठमाडौँ । बंगलादेश टी–२० विश्वकपबाट बाहिरिएको छ। भारतमा खेल्न नआउने अडान कायम राखेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बंगलादेशलाई प्रतियोगिताबाट हटाउँदै स्कटल्याण्डलाई समावेश गरेको हो।

आइसीसीले बुधबार बंगलादेशलाई भारतमा खेल्न सहमत हुन २४ घण्टाको समय दिएको थियो। सो समयसीमा शुक्रबार सकिएपछि आइसीसीले आफ्नो पूर्वघोषित निर्णय कार्यान्वयन गरेको हो। बुधबार नै आइसीसीले भारतमा खेल्न अस्वीकार गरेमा बंगलादेशलाई विश्वकपबाट हटाएर उसको स्थानमा स्कटल्याण्डलाई सहभागी गराइने चेतावनी दिएको थियो।

आइसीसीले आफ्नो निर्णयबारे शुक्रबार नै बंगलादेश क्रिकेट बोर्डलाई इमेलमार्फत जानकारी गराएको भारतीय समाचार एजेन्सी पीटिआईले जनाएको छ।

अब टी–२० विश्वकपको समूह ‘सी’ मा बंगलादेशको स्थान स्कटल्याण्डले लिएको छ। स्कटल्याण्डले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्ग्ल्यान्डसँग खेल्नेछ। यी तीनवटै खेल कोलकातास्थित इडेन गार्डेन रंगशालामा हुनेछन्।

त्यसैगरी, समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डले फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।

You may also like