काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक गुल्मीको १ नम्बर क्षेत्र पनि रहेको छ ।

चन्द्र भण्डारी, प्रदीप ज्ञवाली र सागर ढकालको यसक्षेत्रबाट उम्मेदवारी दिएका कारण यो क्षेत्र चर्चामा रहेको छ र यो क्षेत्रमा सबैको नजर रहेको छ ।
गुल्मी १ क्षेत्रमा कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ नम्बर देखि १४ नम्बरसम्मका वडा समेटिएको छ ।
गुल्मी-१ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २२ हजार १८६ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन
यसअघि २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा गुल्मी- १ बाट नेपाली काँग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए । उनले ३३ हजार ७४४ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै एमाले नेता प्रदीप ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरेका थिए । त्यस्तै रास्वपाका दामोदर भण्डारीले १८८२ मत प्राप्त गरेका थिए ।
त्यस्तै २०७९ सालको निर्वाचनमा समानिपतिक तर्फ भने यस क्षेत्रबाट एमालेले सबैभन्दा बढी २८ हजार ४५३ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले २३ हजार ४१३ मत प्राप्त गरेको थियो भने रास्वपाले ८ हजार ११६ मत प्राप्त गरेको थियो । त्यसैगरी यस क्षेत्रमा तत्कालिन माओवादी केन्द्रले ६ हजार २५७ मत प्राप्त गरेको थियो ।
उम्मेदवार
गुल्मी- १ मा यस पटक नेपाली काँग्रेसका चन्द्र भण्डारी फेरी एक पटक उम्मेदवार बनेका छन् । त्यस्तै एमालेबाट पनि नेता प्रदीप ज्ञवालीलाई नै पुन: दोहोरिएका छन् । त्यसैगरी रास्वपाबाट यस क्षेत्रमा सागर ढकाल उम्मेदवार बनेका छन् । उनी यसअघि स्वतन्त्र रुपमा डडेल्धुरामा उम्मेदवार बनेर काँग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिने प्रयास गरेका थिए । त्यस्तै यस क्षेत्रमा नेकपाबाट सुदर्शन बराल उम्मेदवार छन भने राप्रपाबाट अजित कुमार श्रेष्ठ उम्मेदार बनेका छन् ।
निष्कर्ष
गुल्मी-१ मा २०७४ मा एमाले नेता प्रदीप ज्ञवाली विजयी भएका थिए भने २०७९ मा काँग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए । यस क्षेत्रका मतदाताले दुवैलाई पालैपालो जिताएका छन् । २०७९ को निर्वाचनमा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन रहेकाले भण्डारीलाई चुनाव जित्न सजिलो भएको थियो । तर यस पटक सबै दल अलग अलग बिना गठबन्धन चुनावमा गएकाले नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न गार्हो छ ।
राष्ट्रिय राजनीतिमा चर्चित नेता भण्डारी र ज्ञवालीलाई चुनौती दिदै यस पटक रास्वपाबाट उम्मेदवार बनेर सागर ढकालको इन्ट्रीले गुल्मी-१ लाई चर्चामा ल्याएको छ । परिवर्तन हुनुपर्छ र राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ भन्ने अभियान नै चलाएका ढकाल अघिल्लो चुनावमा डढेल्धुरामा उम्मेदवार बनेर तत्कालिन काँग्रेस सभापति देउवालाई चुनौती दिएका थिए । देउवाले २५ हजार ५३४ मत प्राप्त गरेर विजयी हुदा सागरले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।
यस पटक रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका सागर आफ्नो जिल्ला गुल्मी आएका छन् । उनले चुनावमा कस्तो प्रभाव पार्छन्, त्यो अहिलेनै भन्न सकिने अवस्था छैन । तर शुरुवाती समयमा उनले युवा मतदातालाई धेरै हदसम्म प्रभाव पारेका छन्, जसले भण्डारी र ज्ञवालीको चुनावी गणित बिगारिदिने संकेत गरेको छ ।



