पश्चिमी वायूको आंशिक प्रभाव, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
61Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
विभागका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ।

यस्तै, भोलि शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले विभागले दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचना ध्यानपूर्वक हेर्न सबैमा अनुरोध गरेको छ।

You may also like