विद्यमान राजनीतिक समस्या समाधानका लागि निर्वाचनको विकल्प छैन : प्रचण्ड

by समतल अनलाइन
43Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएको राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

केन्द्रीय कार्यालय,पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरू निर्वाचनका लागि पूर्ण रूपमा तयार हुनुपर्ने बताए। संसद पुनः स्थापनाको पछाडि नलाग्न पनि उनले आग्रह गरे ।

पूर्वप्रधानमन्त्री दाहालले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई आग्रह गरे । उनले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्यौलता अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने धारणा राखे ।

समान वैचारिक दृष्टिकोण भएका बाम शक्तिबीच ध्रुवीकरण सुरु भइसकेको उल्लेख गर्दै उनले केही दिनभित्र अन्य दलसँग पनि एकता गरिने जानकारी दिए ।

कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम स्पष्ट रहेकाले जनताको भरोसा र विश्वास बढ्दै गएको बताए ।

उनले राजनीतिक विचार र सिद्धान्त मिलेका दललाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अघि बढाइने उल्लेख गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोलीलाई नेकपामा स्वागत गरिएको थियो।

You may also like