देउवा, कोइराला र खड्काबाट अभिभावकको भूमिका अपेक्षा गरेका छौँ : गगन थापा

by समतल अनलाइन
49Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा रहेको बताएका छन् ।

शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति थापाले पार्टीभित्र देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए।

‘पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा हौँ । निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौँ । उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ, अब यो रोक । एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो । वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौँ,’ सभापति थापाले भने।

नवनिर्वाचित पदाधिकारी र नेताहरूले पार्टीभित्रका नेताहरूसँग निरन्तर संवाद गरिरहेको उनले बताए। केही दिनभित्र सबै नेता एक ठाउँमा बसेर आगामी निर्णय लिने तयारी भइरहेको उनको भनाइ थियो।

‘दुई/तीन दिनभित्र सबै एक ठाउँमा आएर पार्टीलाई अगाडि बढाएको देख्न सक्नुहुन्छ । संवादको थालनी गरिसकेको छु । पार्टीका साथीहरूसँग विभिन्न तहमा छलफल भएको छ,’ उनले भने।

यसअघि शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई पार्टीको आधिकारिकता दिएको थियो । आधिकारिकता पाएसँगै थापा समूहले पार्टी गतिविधि सुरु गरिसकेको छ। यद्यपि पार्टीको केन्द्रीय कार्यालय भने देउवा समूहले नै प्रयोग गरिरहेको छ ।

You may also like