कपिलवस्तु ।रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–११ स्थित श्री हेमराज माध्यमिक विद्यालयका १०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

कार्यक्रम क्लबका अध्यक्ष आविष्कार खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश स्वास्थ्य मन्त्री माननीय विष्णु पन्थीको उपस्थिति रहेको थियो।
विशेष अतिथिमा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष तथा रोट्रयाक्टका पूर्व अध्यक्ष बाबुराम बन्जाडे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरी रहनुभएको थियो। कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक झबिन्द्र प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष खिमराज बेलबासे, विद्यालय व्यवस्थापन समिति सदस्य बिमला चौधरी, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अन्य सदस्य तथा शिक्षकहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार लक्ष्मण पन्थीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो। प्रमुख अतिथि माननीय विष्णु पन्थीले विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास बढाउने र अध्ययनप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताउँदै रोट्रयाक्ट क्लबको सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीले विद्यालयलाई प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहकार्यले शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।
क्लब अध्यक्ष आविष्कार खनालले रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले शिक्षा, स्वास्थ्य र युवा सशक्तीकरणका क्षेत्रमा समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखी निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो।
सोही अवसरमा क्लबको ३४१औँ नियमित बैठक विद्यार्थीहरूकै बीचमा सम्पन्न गरिएको थियो। साथै केक काटेर २४औँ स्थापना दिवस उत्साहपूर्वक मनाइएको थियो। कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीलाई रोटरी चार सूत्रीय कसि ब्यानर प्रदान गर्नुभयो।
कार्यक्रम सफल बनाउन स्व. हजुरबुवा गंगाराम बन्जाडेको स्मृतिमा नाति योगेश बन्जाडे, जन्मदिनको अवसरमा सरला बन्जाडे तथा रमेश शर्मा, लेखनाथ पौडेल, धना पौडेल, चन्दन सिजाली, स्वस्ती धिताल, हिमा पोखरेल, शैलेन्द्र यादव र सुनिता के.सी. लगायत सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको क्लबले जनाएको छ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव केशव पौडेलले गर्नुभएको थियो। रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायका बालबालिका तथा युवालाई लक्षित कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।



