रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै

by समतल अनलाइन
58Shares

बुटवल।तन्त्र र ज्योतिषसम्बन्धी सम्पूर्ण ज्ञान तथा जानकारी दिने उद्देश्यले रुपन्देहीमा प्रशिक्षणात्मक गोष्ठी सञ्चालन हुने भएको छ ।
दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा यही माघ ३ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका–स्थित मणिग्राममा तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी आयोजना गर्न लागिएको हो ।

गोष्ठीमा ज्योतिष र तन्त्रलाई शास्त्रीय, व्यवहारिक तथा जिम्मेवार ढंगले प्रयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ । कार्यक्रम संयोजक कान्छो ज्योतिष चुडामणि पाण्डेका अनुसार ज्योतिष र तन्त्रमाथि उठ्दै आएका विविध प्रश्नको निराकरण गर्ने उद्देश्यले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
उनले तन्त्र र ज्योतिषको आवश्यकता, सामाजिक महत्व तथा दैनिक जीवनमा यसको प्रयोगबाट प्राप्त हुने लाभबारे जानकारी लिन सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे । गोष्ठीमा निःशुल्क सहभागिताको व्यवस्था मिलाइएको छ ।

दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका महासचिव अनुप पौडेलले ज्योतिषसम्बन्धी भ्रम, अर्धज्ञान र अव्यवस्थित प्रयोगका कारण समाजमा बनेको नकारात्मक धारणा चिर्न गोष्ठी उपयोगी हुने बताए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. अर्जुन भट्टराईले प्रेम विवाह र सम्बन्धविच्छेदबारे ज्योतिषीय समाधान, प्रा. डा. माधवप्रसाद लामिछानेले नेपाली परिवेशमा तन्त्रको प्रयोग र उपयोगिता तथा प्राध्यापक नारायणप्रसाद भण्डारीले राशिफल लेखनसम्बन्धी प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी ज्योतिष ज्ञानेन्द्र पन्थीले ज्योतिषमाथि उठ्ने प्रश्नको निराकरण गर्दै भविष्यवाणीमा एकरूपता ल्याउन गोष्ठी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

गोष्ठीको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले गर्ने कार्यक्रम छ । कार्यक्रममा ५०० भन्दा बढीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष गजल पाण्डेले जानकारी दिए ।

You may also like