लायन्स क्लब अफ बुटवल मोडरल्याण्डद्वारा फर्निचर सामग्री हस्तान्तरण

by समतल अनलाइन
55Shares

बुटवल । लायन्स क्लब अफ बुटवल मोडरल्याण्डले आइतबार बुटवलमा कार्यक्रम आयोजना गरी प्युठान जिल्लाको नौबहिनी गाउँपालिका–स्थित किमिचौर युवा क्लबलाई विभिन्न फर्निचर तथा आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका पीवाईएमजेएफ तथा आईपिदिजी अर्जुन मान सैजु लगायतले सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा क्लबका अध्यक्ष अमर थापा र कार्यक्रम संयोजक सुरेश केसीको लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा युवा क्लबको संस्थागत क्षमता मजबुत बनाउने र सामाजिक गतिविधि सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले १०० थान थाल, १०० थान कचौरा, १०० थान गिलास, दुई थान टेबल, एक सेट साउण्ड सिस्टम, ५० थान कुर्सी, दुई थान गमला, बाल्टिनलगायत सामग्री हस्तान्तरण गरिएको हो।

त्यसैगरी प्रमुख अतिथि अर्जुन मान सैजुले युवाहरू सामाजिक परिवर्तनका मुख्य आधार भएको उल्लेख गर्दै यस्ता सहयोगले स्थानीय तहमा सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष अमर थापाले भने, “लायन्स क्लब सधैं समाजसेवामा सक्रिय रहँदै आएको छ। ग्रामीण भेगका युवा क्लबलाई सानो सहयोगले पनि ठूलो उत्साह मिल्छ भन्ने विश्वासका साथ हामीले यी सामग्री हस्तान्तरण गरेका हौं। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनेछौं।”

सामग्री प्राप्त गरेपछि किमिचौर युवा क्लबका पदाधिकारीहरूले लायन्स क्लब अफ बुटवल मोडरल्याण्डप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीलाई सामुदायिक तथा सामाजिक काममा प्रभावकारी रूपमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

You may also like