बुटवल । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक खाना महोत्सव २ करोडभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सञ्चालन भएको तीनदिने सडक खाना महोत्सव बिहीबार विधिवत् रूपमा समापन गरिएको हो ।

समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कालिकापथलाई रात्रीकालीन बजारका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । पर्यटनलाई अब आर्थिक समृद्धिको मुख्य आधारका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले पर्यटकीय स्थलको विकास र प्रचार–प्रसारमा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पारिन् ।
कार्यक्रममा संघका अध्यक्ष माधवकुमार खनालले नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सिर्जना गर्न यस्ता महोत्सवहरू प्रभावकारी हुने बताए । उनले कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै पर्यटन गन्तव्यको बजारीकरणका लागि सरकारबाट दीर्घकालीन योजना बनाउन सुझाव दिए ।
महोत्सवमा राखिएका स्टलहरूमध्ये साजसज्जा, संस्कृति पहिचान र परिकारका आधारमा उचडिहवा स्वावलम्बन महिला समूह प्रथम, समयबजी भ्वय (बुटवल–३) दोस्रो तथा अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस तेस्रो भएका छन् । संघका प्रमुख सल्लाहकार तथा अनुगमन समितिका संयोजक माधवप्रसाद नेपालले नतिजा सार्वजनिक गरे ।
यसैगरी न्यु स्वाद गोलपार्क, मगरी खाजाघर र सैनामैना थारु परिकार लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । सामाजिक उत्तरदायित्वमा उत्कृष्ट योगदानका लागि पहिलो पाइला नेपाल र मारवाडी महिला मञ्च बुटवल सम्मानित भएका छन् । उक्त जानकारी संघका निवर्तमान अध्यक्ष भण्डारीले दिएका हुन् ।
तीन दिनसम्म चलेको महोत्सवमा दैनिक रूपमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए । महोत्सवमा प्रकाश सपुत, पुष्कल शर्मा, शान्तिरानी परियार, खुमन अधिकारी, शिलु भट्टराई, नारायण बीपी परियार, अनु राना लगायत राष्ट्रिय तथा स्थानीय गायक–गायिकाको प्रस्तुति रहेको थियो । साथै विष्णुजी पाण्डे ‘माइलाबा’, पुर्खेबा र उज्ज्वल गिरीसहितका हास्यकलाकारहरूले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
संघका महासचिव केशवराज कँडेलका अनुसार महोत्सवमा करिब ढाई लाख दर्शकको सहभागिता रहेको थियो । संघका कोषाध्यक्ष अर्जुन पोखरेलले महोत्सवबाट करिब ढाई करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिए ।




