काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीति गरिरहेकाले देशमा निराशा फैलाएकाले र देशलाई निकास दिन नसकेकाले कलाकार, पत्रकार र खेलाडीहरु राजनीतिमा आएको बताएका छन् ।

झरिपछिको इन्द्रेणी सिनेमा हेर्न पुगेका सभापति लामिछानेले समानुपातिकको सूचीमा धेरै सेलिब्रेटीहरुलाई राखेको भन्ने प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।
उनले भने- ‘जब जब राजनीतिले निकास दिन सकदैन, जब राजनीति गर्छु भनेर बर्षौं जीवन बिताएका मानिसहरुले गरेको राजनीतिले देशमा निराशा फैलाउछ, त्यसले निकास दिन सक्दैन, त्यतिखेर कलाकार पत्रकार खेलाडी सबैजना राजनीतिमा आउछन् । अहिले नेपाल त्यहि फेजमा आएको छ । त्यहि मोडमा आएको हुनाले कलाकार खेलाडी राजनीतिमा देखिनुभएको छ नि, किनकी राजनीति जसले गर्छन् भनेर हामीले विश्वास गरेर हाम्रो सम्पूर्ण भविष्य सुम्पेका थियौं, उनीहरुले हाम्रो भविष्यमाथी खेलवाड गरे । त्यसकारण त्यो खेलवाड सहन नसकेर कलाकारहरु राजनीतिमा आएका हुन् ।’
लामिछानेले कलाकारहरुलाई राजनीतिमा इन्ट्रेस्ट नभएको बताउदै आफ्नो मुलुकप्रतिको उत्तरदायित्व पुरा गर्नको लागि राजनीतिमा आएको र आवश्यक परेको खण्डमा सबै अगाडी आउनुपर्ने बताए ।
रास्वपाले गएराती निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सुचीमा कलाकार, खेलाडीसहितका सेलिब्रेटी र अभियान्ताहरु ठुलो संख्यामा राखेको भन्दै रास्वपा भित्र असन्तुष्टि बढेको छ । साथै समानुपातिक सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा देखि कुलमान घिसिङका भान्जासम्म राखेको भन्दै आलोचना भइरहेको छ ।





