लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने गुणस्तर अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

by समतल अनलाइन
22Shares

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने गुणस्तर अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम आइतबारदेखि सुरु भएको छ।
लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका ३० वटा उच्च शैक्षिक संस्थाका क्याम्पस प्रमुख र क्यूएए फोकल पर्सनहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो।

प्रत्यायनकृत उच्च शैक्षिक संस्थाहरुलाई गुणस्तर अभिवृद्धि, वार्षिक प्रगति प्रतिवेदन, आन्तरिक गुणस्तर सुनिश्चितता सम्बन्धी म्यानुअल र स्वअध्ययन प्रतिवेदन सम्बन्धी व्यवस्थाहरुका बारेमा जानकारी दिने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग, नेपाल गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को आयोजना एवं लुम्बिनी वाणिज्य क्याम्पसको व्यवस्थापनमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम उद्घाटन सत्रमा बोल्दै विश्वविद्यालय अनुदान आयोग, नेपालका सदस्य सचिव प्रा.डा. ज्ञान बहादुर थापाले नेपालमा उच्च शैक्षिक संस्थाहरुको गुणस्तर अभिवृद्धिका लागि आफु कटिबद्ध भएर लागिरहेको बताउनुभयो । वैदेशिक अध्ययनका लागि विद्यार्थीहरु बाहिरिने कारणले नेपालका उच्च शैक्षिक संस्थाहरु धरासायी हुँदै गएकाले सोको न्यूनीकरणतर्फ आफू कार्ययोजना सहित अगाडि बढेको बताउनुभयो।

यस्तै उद्घाटन सत्रको अध्यक्ष समेत रहनुभएका लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले विश्वविद्यालय अनुदान आयोग, नेपालले लुम्बिनी वाणिज्य क्याम्पसलाई यस कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो साथै श्रेष्ठले तेस्रो चरणको क्यूएए प्रमाणपत्र प्राप्त यस क्याम्पसको अवलोकन गरि आवश्यक सल्लाह सुझाव आदानप्रदान गर्न पनि सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो।
यस्तै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले स्वागत मन्तव्य मार्फत सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै उच्च शैक्षिक संस्थाहरुले देशको समग्र शिक्षाको भार बहन गरेता पनि राज्यबाट आवश्यक नीति निर्माण नहुदा गुणस्तर प्राप्त क्याम्पसहरुले लक्ष्य अनुरुप कार्य गर्न नसकेको बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोग, नेपालको उपनिर्देशक भगवती पौडेलले पहिलो, दोस्रो र तेस्रो चरणको क्यूएए प्रमाणपत्र प्राप्त क्याम्पसहरु आफैमा विविधता रहेकाले दुई दिने अभिमुखिकरण कार्यक्रममा अनुभव आदानप्रदान गरि गुणस्तर अभिवृद्धिको लक्ष्यमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रको कार्यक्रम सञ्चालन लुम्बिनी वाणिज्य क्याम्पस क्यूएए फोकल पर्सन उपप्राध्यापक पुनाराम घिमिरेले गर्नुभएको थियो।

पहिलो दिनको पहिलो सत्रमा विश्वविद्यालय अनुदान आयोग, नेपालका सहायक निर्देशक नारायण प्रसाद भण्डारीले गुणस्तर प्रमाणपत्रको थप चक्रको लागि एसएसआर तयारी, बुझाइ, बेन्चमार्क र रिपोर्टिङका सूचकहरूको बारेमा र दोस्रो सत्रमा उपनिर्देशक भगवती पौडेलले गुणस्तर सुनिस्चितता तथा प्रत्यायन सम्बन्धी राष्ट्रिय आकाक्षां र विद्यमान नीति नियमहरुको बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो भने तेस्रो सत्रमा तेस्रो चरणको क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलका क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले अनुभवहरु तथा सामाना गरेका चुनौतीहरु सहभागीमाझ सुनाउनुभएको थियो।

You may also like

This will close in 0 seconds