तमू ल्होसार ‘त ल्हो’ मनाउन लुम्बिनी प्रदेशभर विविध कार्यक्रम घोषणा:अर्जुन गुरुङ

by समतल अनलाइन
32Shares

बुटवल । तमू (गुरुङ) समुदायको महान पर्व तमू ल्होसार ‘त ल्हो’ स्वागतमा लुम्बिनी प्रदेशभर विविध सांस्कृतिक, सामाजिक तथा खेलकुद कार्यक्रम आयोजना गरिने भएको छ।

तमू (गुरुङ) जातिको छाता संगठन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद तथा यसका भातृ संस्थाहरू तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद र नेपाल तमू (गुरुङ) छोंज धीं को संयुक्त आयोजनामा २६ औँ आशिमाला (शुभकामना) आदान–प्रदान कार्यक्रमसहित ल्होसार विशेष कार्यक्रमहरू सञ्चालन हुन लागेको हो।
तमू युवा ह्युल लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमु गुरुङका अनुसार लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा सिउरा, भलिबल, कबड्डी प्रतियोगिता, राहत वितरण, शान्ति र्‍याली तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्। कार्यक्रममा गुरुङ समुदायका मौलिक तथा ऐतिहासिक नृत्य झाम्रे, घाटु, रोडी लगायतका सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिनेछ।

अध्यक्ष गुरुङले पुस १५ गते बुटवल–८ स्थित व्यासक्याम्पमा रहेको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको परिसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो। उक्त कार्यक्रममा तनहुँ, गोरखा लगायत विभिन्न जिल्लाबाट गुरुङ समुदायका अग्रज व्यक्तित्वहरूको सहभागिता रहने उहाँले बताउनुभयो।

यसैगरी ल्होसारको पूर्वसन्ध्यामा पुस १४ गते बिहान १० बजे बुटवल ट्राफिक चोकदेखि रामनगर बेसक्याम्पसम्म शान्तिपूर्ण र्‍याली आयोजना गरिने छ।

तमू ल्होसार केवल एउटा पर्व मात्र नभई हाम्रो पहिचान, संस्कृति र सामूहिक एकताको प्रतीक हो, अध्यक्ष गुरुङले भन्नुभयो, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सद्भाव प्रवर्द्धन तथा भावी पुस्तामा पहिचान हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको हो।

उहाँका अनुसार ल्होसारको अवसरमा लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूमा पनि एकैसाथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

You may also like

This will close in 0 seconds