संसद पुनर्स्थापना हुँदैन, चुनावतिरै जानुपर्छ : प्रचण्ड

by समतल अनलाइन
69Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) पनि अब निर्वाचनतिरै जाने जिकिर गरे । संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दर्ता भए पनि अन्ततः दुवै दल चुनावमा केन्द्रित हुने उनको भनाइ थियो ।

‘निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ । मलाई विश्वास छ, आज-भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुनेछन्,’ प्रचण्डले भने ।

अब निर्वाचनको विकल्प नरहेको उनले बताए । कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘न्यायालयमा पनि जानुभएको छ । तर म तपाईँ सबै र जनतालाई नै भन्न चाहन्छु- कुनै भ्रममा पर्न आवश्यक छैन । संसद पुनर्स्थापना अहिले हुँदैन । निर्वाचन अब अगाडि आइ नै सक्यो ।’

निर्वाचनमा नगए देश थप दुर्घटनातिर जाने उनको चेतावनी थियो । ‘निर्वाचन नभए थप अन्योल हुन्छ । थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ,’ उनले भने, ‘अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यतातर्फ आकर्षित गर्न जरुरी छ ।’

प्रचण्डले नेता तथा कार्यकर्तालाई एकजुट भएर निर्वाचनमा लाग्न निर्देशन पनि दिए ।

You may also like

This will close in 0 seconds