काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले घोषित मितिमै निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगको कार्यालयमा मिडिया सेन्टर शुभारम्भ कार्यक्रममा बोल्दै उनले निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहसभन्दा आयोग धेरै अघि बढिसकेको बताए ।
‘निर्वाचन हुन्छ कि हुँदैन, कस्तो हुन्छ भन्ने विषयको छलफल अब सकियो । अब हामी त्यो बाटोमा प्रवेश गर्दैनौँ । हामी निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ । अब फर्किन सक्ने अवस्था र स्थिति छैन,’ भण्डारीले भने ।
निर्वाचनको विकल्प नरहेको उल्लेख गर्दै उनले निर्वाचनको वातावरण बिथोल्ने प्रयास देखिए सञ्चारमाध्यममार्फत आयोगलाई जानकारी गराउन आग्रह गरे । राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई पनि ध्यानपूर्वक हेरिनुपर्ने उनले बताए ।
अन्तरिम सरकार गठनका बेला राष्ट्रपतिले पनि संविधानअनुसार निर्वाचन गर्नुपर्ने र संविधानको संरक्षण तथा सुशासनका लागि निर्वाचन नै एकमात्र विकल्प भएको धारणा राखेको स्मरण गराउँदै भण्डारीले सोहीअनुसार आयोग अघि बढ्ने बताए ।
‘मुलुकले थप आन्दोलन थेग्न सक्दैन,’ उनले भने, ‘गौरवका साथ बाँच्न पनि सबैलाई निर्वाचनमा सक्रिय रूपमा सहभागी गराएर सक्षम व्यक्तिहरूलाई संसदमा पठाउनु हाम्रो दायित्व हो ।’





