तिलोत्तमा नगरमा दोस्रो दलित ज्ञान उत्सव जारी, विभेद विरुद्धको सशक्त सन्देश

Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दोस्रो तिलोत्तमा दलित ज्ञान उत्सव २०८२ हिजोदेखि सुरु भएको हो र आज दोस्रो दिन कार्यक्रम जारी छ। स्थानीय सरकारको पहलमा सुरु भएको यो दुई दिने ज्ञान उत्सवको उद्घाटन हिजो (शुक्रबार) पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले गर्नुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै विश्वकर्माले जातीय भेदभाव र छुवाछुत अन्त्य नगरी मुलुक समृद्ध बन्न नसक्ने उल्लेख गर्नुभयो। उहाँले संविधानले भेदभावलाई अपराध ठहर गर्दै कडा कानुनी व्यवस्था गरेको बताए। यस्तो कार्यक्रमले समाजमा चेतना जगाउने काम गर्ने भएकाले तिलोत्तमा नगरको प्रयास सकारात्मक रहेको उहाँको भनाइ थियो।

नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमालाई ‘मानवताको शहर’ बनाउने लक्ष्यसहित यो उत्सव आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले नगर भित्र कोही पनि नागरिक विभेदमा पर्न नपरोस्, अपहेलित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको र विभेदमा संलग्नलाई कारबाही गरिने स्पष्ट पार्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यो कार्यक्रम दीर्घकालीन योजनाअन्तर्गत मानव मुक्त र सहिष्णु समाज बनाउने लक्ष्यसहित गरिएको बताउनुभयो। नगरपालिकाले ‘ह्युम्यानिटी सेन्ट्रिक सिटी’ निर्माणको नीति अनुसार समाजमा सहिष्णुता र समानताको सन्देश दिन यो कार्यक्रम अघि बढाइएको उहाँले बताउनुभयो।

कार्यक्रम अन्तर्गत दलित पासपोर्ट चित्र र दलित विकास रणनीतिको पनि विमोचन गरिएको छ। वन तथा वातावरण समितिका संयोजक सुरेन्द्र श्रीले यो दस्तावेज दलित समुदायको हक अधिकार र समावेशी विकासका लागि बनाइएको जानकारी दिनुभयो।

सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीका अनुसार कार्यक्रममा दलित समुदायको इतिहास, संस्कृति, साहित्य, दर्शन, युवा सशक्तिकरण र समानताका विषयमा बहस तथा छलफल भइरहेका छन्।

You may also like

This will close in 0 seconds