प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

by समतल अनलाइन
33Shares

काठमाडौं। सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा हुने अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको हो ।

यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुनका लागि नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । देशमा विकराल बन्दै गएको अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति समेत दिएको छ ।

सामाजिक सुरक्षा र लक्षित वर्गको पहिचानका क्रममा सरकारले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ ।

त्यस्तै, संवैधानिक र प्रशासनिक क्षेत्रमा रिक्त पदहरू पूरा गर्दै सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साल, सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्ति गरेको छ ।

प्रशासनिक क्षेत्रतर्फ दुई सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरिएको छ। जसअन्तर्गत सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ । त्यस्तै सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।

You may also like