गुल्मीको चोरकाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

Shares

गुल्मी। सत्यवती गाउँपालिका–६, परमान्दनगर चोरकाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीको आयोजनामा जोहाङ्गस्थित रन्जितप्रसाद लालचन रुद्रावती माविमा आयोजित शिविरमा पाँच सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्।

समाजका अध्यक्ष कृष्णबहादुर थापाका अनुसार शिविरमा भिडियो एक्सरे, स्त्रीरोग जाँच, हाडजोर्नी, जनरल चेकजाँच, रगत परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो।

स्वास्थ्य सेवा डाक्टर ढकबहादुर खत्रीको नेतृत्वमा डाक्टर आयुशा भण्डारी, चाँदनी गैरे, हिमलाल भण्डारी, सगुना श्रेष्ठ, परामर्श पौडेल, दिपेन्द्र थापा, एन्जिला न्यौपानेलगायत ४० जनाको टोलीले प्रदान गरेका थिए।

शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको बताए। निजी तथा सार्वजनिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

पूर्व राज्यमन्त्री सुवर्ण ज्वारचनले सत्यवती, चन्द्रकोट, छत्रकोट, गुल्मी दरबार क्षेत्रका नागरिकले लाभ उठाएको बताउँदै समाजप्रति आभार व्यक्त गरे।

खत्री नर्सिङ होमका डाइरेक्टर डा. डिबी खत्रीले दुर्गम क्षेत्रमा निरन्तर शिविर सञ्चालन गर्दै आइरहेको जानकारी दिए।

कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, र समाजका पदाधिकारीहरूले पनि धारणा राखेका थिए।

शिविर खत्री नर्सिङ होम, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, न्यौपाने डेन्टल, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, सत्यवती गाउँपालिका लगायत विभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न भएको थियो।

You may also like

This will close in 0 seconds