बुटवल उपमहानगरपालिकाले लुकेका क्षयरोगी पहिचान र उपचारमा सक्रिय

Shares

बुटवल। बुटवल उपमहानगरपालिकाले समुदायमा लुकेर रहेका क्षयरोगीहरुको पहिचान गरी उपचारको दायरामा ल्याउने सकारात्मक प्रयास अघि बढाएको छ।

समुदायमा रहेका लुकेका क्षयरोगीहरूले एक व्यक्तिबाट अरू १० जनासम्मलाई रोग सार्न सक्ने भएकाले उनीहरूको पहिचान अत्यावश्यक रहेको जनस्वास्थ्य महाशाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो। त्यसैले, उपमहानगरपालिकाले जोखिमयुक्त क्षेत्र पहिचान गरी स्वास्थ्य स्वयंसेविकामार्फत परीक्षण शिविर सञ्चालन गर्ने योजना बनाएको छ।

विश्व क्षयरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख पाण्डेले निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दै उपचारमा जोड दिइएको जानकारी दिनुभयो। जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकल पर्सन मिन प्रसाद खनालका अनुसार, गत आर्थिक वर्षमा २१ स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो भने यो वर्ष १२ देखि १३ स्थानमा शिविर सञ्चालन गर्ने योजना छ।

संभावित क्षयरोगीहरूको पहिचान स्वास्थ्य स्वयंसेविकामार्फत गरी प्रयोगशालामा परीक्षणका लागि पठाइन्छ। वडा नम्बर ११ को स्वास्थ्य चौकीमा नेपालकै पहिलो एआई प्रविधि जडित एक्स-रेबाट पनि क्षयरोगी पहिचान गर्ने व्यवस्था गरिएको छ। यस प्रविधिबाट यो वर्ष ६ जना नयाँ क्षयरोगी पत्ता लागेका छन्।

बुटवल उपमहानगरपालिकामा क्षयरोग उपचारका लागि १३ वटा डट्स सेन्टरसहित सम्पूर्ण स्वास्थ्य संस्था र लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा उपलब्ध छ। जटिल क्षयरोगीहरूको उपचारका लागि डीआर सेन्टर लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र रहेको छ।

नगरपालिकाले माइक्रोस्कोपिक परीक्षण सेवा ८ स्थानमा उपलब्ध गराएको छ भने जिन एक्सपर्ट परीक्षण सेवा लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सञ्चालनमा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ४४३ जना क्षयरोगी दर्ता भएका थिए, भने चालु आर्थिक वर्षको माघ महिनासम्म २४० जना दर्ता भएका छन्। २०८०/८१ मा १३ जनाको निधन भएको छ।

क्षयरोग मुक्त अभियानअन्तर्गत स्वयंसेवकहरूलाई अभिमुखीकरण गरिनुका साथै जोखिम समूहमा परिचालन गरिएको छ। वार्षिक तथा अर्धवार्षिक समीक्षा, क्षयरोग समिति गठन, समुदायमा खोजी अभियान, स्क्रिनिङ क्याम्प तथा स्वास्थ्य सेवाबाट टाढा रहेका व्यक्तिहरूलाई घरदैलो अभियान सञ्चालन गरिएको छ।

एआई प्रविधिको प्रयोग गर्दै क्षयरोग खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको छ। प्रत्येक वडामा क्षयरोग मुक्त अभियान स्वयंसेवक परिचालन गरिनुका साथै विपन्न तथा कुपोषित बिरामीहरूलाई पोषण सामग्री वितरण गरिएको छ। चालु आर्थिक वर्षमा २३ जना क्षयरोगीलाई पोषण सहायता प्रदान गरिएको छ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक कल्पना भुसाल लगायतले क्षयरोग नियन्त्रण तथा उपचारबारे आफ्ना धारणा राख्नुभएको थियो।

You may also like