बुटवल।रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब २४ लाख रुपैयाँ बराबरका विभिन्न मोडेलका आईफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार राति करिब ९ः१० बजे ओमसतिया गाउँपालिका–४ सानो बालापुर क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरमा शंकास्पद रूपमा ल्याइँदै गरेका मोबाइल फोनहरू बरामद गरेको हो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका अनुमानित २३ लाख ९० हजार रुपैयाँ बराबरका ३८ थान एप्पल आईफोन फेला परेका हुन् । बरामद गरिएका मोबाइलहरूमा आईफोन १७ का २ थान, आईफोन १३ (२५६ जिवि) का ९ थान, आईफोन १३ (१२८ जिवि का १२ थान, आईफोन १४ प्रो का २ थान तथा आईफोन ११ (१२८ जिवि) का १३ थान रहेका छन् ।
साथै, सामान ओसारपसारमा प्रयोग गरिएको लु ५३ प ३३९८ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएका मोबाइल फोन र स्कुटर आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

