बुटवल। सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६८औं सहकारी दिवस तथा आफ्नो ३०औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सहकारीले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसलाई रचनात्मक कार्यक्रममार्फत मनाउँदै आएको छ। यसै क्रममा, यस वर्ष पनि विभिन्न कार्यक्रमसहित आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा करिब ५० जना सहभागी भएका थिए। सहकारीका कार्यबहाक अध्यक्ष माया गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष शिवलाल रानाले उद्घाटन गर्दै रक्तदानको महत्त्व सबैले बुझ्नुपर्नेमा जोड दिइन । उनले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै रक्तदान कार्यक्रम पनि सोही अभियानको एक हिस्सा भएको उल्लेख गरिन ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, इन्द्रेणी सहकारीका कोषाध्यक्ष कृष्ण अर्याल, लेखा संयोजक लुन्जलाल शाक्य, रक्त संचार सेवा केन्द्र बुटवलकी राधा ज्ञवाली, सहकारी सदस्यहरू गोविन्द ज्ञवाली र शान्तिलाल बज्राचार्यलगायतले रक्तदानको महत्त्वबारे आफ्नो धारणा व्यक्त गरेका थिए।
सहकारीका सचिव नरबहादुर रजालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहकारी व्यवस्थापक बाबुराम अर्यालले सहकारी दिवस तथा आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, अनाथ तथा असहायलाई सहयोग, दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सहकारी शिक्षा तालिमलगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।