नवलपरासी । बालबालिकाको व्यवहार, मनोविज्ञान र पारिवारिक वातावरणलाई केन्द्रमा राख्दै सुनवल–१ स्थित सोमनाथ बाबा माध्यमिक विद्यालयले ‘अभिभावक पाठशाला’ सुरु गरेको छ। विद्यालयले नियमित रूपमा सञ्चालन गर्ने उद्देश्यसहित सुरु गरेको पाठशालाको पहिलो सत्र ‘सचेत अभिभावकत्व’ विषयमा केन्द्रित रहेको थियो।
सोमनाथ बाल उद्यानको सभाहलमा आयोजित कार्यक्रममा अभिभावकलाई बालबालिकाको उमेरअनुसार देखिने व्यवहारिक तथा भावनात्मक परिवर्तन बुझ्न, उनीहरूसँग सकारात्मक संवाद गर्न र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक सीपबारे जानकारी दिइएको थियो।
विद्यालयका अनुसार अभिभावकसँगको सम्बन्धलाई केवल परीक्षा, नतिजा वा बालबालिकासम्बन्धी गुनासोसम्म सीमित नराखी उनीहरूको समग्र विकासमा घर र विद्यालयबीच सहकार्य बढाउने उद्देश्यले पाठशालाको अवधारणा अघि सारिएको हो।
कार्यक्रममा बालबालिकाको डर, रिस, जिद्दी वा अन्य व्यवहारलाई तत्काल दण्ड वा दबाबबाट नियन्त्रण गर्नुको सट्टा त्यसको पछाडि रहेको भावनात्मक कारण बुझ्नुपर्ने विषयमा जोड दिइएको थियो। साथै बालबालिकालाई अनुशासनमा राख्दा कठोरताभन्दा स्पष्ट सीमासहितको माया, संवाद र विश्वासको वातावरण आवश्यक हुने विषयमा समेत छलफल गरिएको थियो।
पहिलो सत्रको सहजीकरण नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक तथा मनोसामाजिक परामर्शदाता रमेश अर्यालले गरेका थिए। उनले बालबालिकाको व्यवहारलाई सतही रूपमा मूल्याङ्कन गर्नुभन्दा उनीहरूको मनोभाव बुझेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए। बालबालिकालाई ‘दृढ तर दयालु’ ढंगले मार्गदर्शन गर्ने व्यवहारिक उपायबारे समेत उनले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा बालबालिकाको दैनिक जीवनसँग जोडिएका सुरक्षा विषयलाई समेत प्राथमिकता दिइएको थियो। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख लक्ष्मण देवकोटाले इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी र साइबर अपराधबाट जोगिने उपायबारे अभिभावक तथा विद्यार्थीलाई जानकारी दिएका थिए।
त्यस्तै, ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब निरीक्षक रेशम रिजालले सडक सुरक्षा, बालबालिकाको सुरक्षित आवतजावत तथा ट्राफिक नियमको पालनाका विषयमा सचेत गराएका थिए।
विद्यालयका हिमाल चन्द्र अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष बोधराज घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सञ्चालक समितिका प्रमुख सल्लाहकार बासुदेव पौडेलसहित शिक्षक, कर्मचारी तथा उल्लेख्य सङ्ख्यामा अभिभावकको सहभागिता रहेको थियो।
विद्यालयले ‘बुझौँ बालमन, बनाऔँ सुन्दर भविष्य’ भन्ने नाराका साथ सुरु गरेको अभिभावक पाठशालालाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। विद्यालय र परिवारलाई बालबालिकाको शिक्षा, संस्कार तथा व्यक्तित्व विकासका समान साझेदारका रूपमा अघि बढाउने उद्देश्यले पाठशालाका विभिन्न सत्र सञ्चालन गरिने विद्यालय प्रशासनले जनाएको छ।

