संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका जाँदै

by समतल अनलाइन
23Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिका जानेछ। प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनाल भने यसअघि नै अमेरिका पुगिसकेका छन्।

प्रधानमन्त्री शाहले आगामी सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्युयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

परराष्ट्रमन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन्। साथै, उनले विभिन्न मुलुकका समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण मुलुकले भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको जलवायु प्रभावका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

संयुक्त राष्ट्रसंघका छ प्रमुख अंगमध्ये एक महासभामा १९३ सदस्य राष्ट्र सहभागी छन्। महासभामा प्रत्येक सदस्य राष्ट्रले ‘एक राष्ट्र, एक मत’ का आधारमा समान मताधिकार प्रयोग गर्छन्। विश्वव्यापी मुद्दामा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवर्द्धनका लागि महासभालाई महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा लिइन्छ।

महासभामा सहभागिता पूरा गरी प्रधानमन्त्री शाह असोज १० गते शनिबार काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल भने असोज १३ गते मंगलबार नेपाल फर्कनेछन्।

You may also like