नेकपा एसको रुपन्देही अधिवेशन सुरु, पुनरुत्थानवादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप आवश्यक : घनश्याम भुसाल

Shares

बुटवल। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पुनरुत्थानवादी शक्तिहरू सलबलाउन थालेको भन्दै तिनलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

नेकपा एकीकृत समाजवादी रुपन्देहीको १०औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनप्रति संकेत गर्दै गणतन्त्रको रक्षा गर्न राजनीतिक दलहरूले सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

भुसालले बेरोजगारी र कुशासनका कारण पुनरुत्थानवादी र लोकप्रियतावादी (पपुलिस्ट) शक्तिहरू बलियो बन्दै गएको बताउँदै सरकार र मुख्य राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने धारणा राखे। गणतन्त्रको रक्षा गर्नका लागि ठूला दलका नेताहरूले आफ्नो अहंकार त्याग्नुपर्ने उनको भनाइ छ।

उनले भने, “ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन। रोजगारीको ग्यारेन्टी गर्ने, सुशासन कायम गर्ने एजेन्डामा आउनुपर्छ।”

नेकपा एसले मुलुकलाई अस्तव्यस्तताबाट बाहिर ल्याउन चैत १ गतेदेखि आन्दोलनको घोषणा गरिसकेको भन्दै भुसालले सर्वदलीय सम्मेलनमार्फत् भ्रष्टाचार रोक्ने र रोजगारी सिर्जना गर्ने योजनामा छलफल गर्नुपर्ने बताए।

पार्टीका उपमहासचिव मेटमणी चौधरीले संविधानको रक्षा गर्न एमालेबाट अलग्गिएको दाबी गरे भने सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली विशेषताको समाजवादको कार्यसूची अघि बढाउने बताए।

अधिवेशन उद्घाटन समारोहमा नेकपा एसका पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, तथा अन्य नेताहरूले एकता र समाजवादप्रति प्रतिबद्धता व्यक्त गरे।

कार्यवाहक अध्यक्ष श्रीराम यादवका अनुसार आईतबार बन्दसत्रमा सांगठानिक प्रतिवेदनमाथि छलफल गरी नयाँ नेतृत्व चयन गरिनेछ।

You may also like