बुटवल । नेपाली कांग्रेस सैनामैना नगर सभापति पदका लागि विमल ज्ञवालीले उम्मेदवारी प्रस्तुत गरेका छन्। राजनीतिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका ज्ञवालीले पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने एजेण्डासहित नगर सभापतिमा उम्मेदवारी दिएका हुन्।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका ज्ञवाली नेपाल विद्यार्थी संघका पूर्व क्षेत्रीय सभापति तथा नेपाल तरुण दलको पूर्व जिल्ला कार्यसमिति सदस्यका रूपमा काम गरिसकेका छन्। त्यसैगरी उनी नेपाली कांग्रेस सैनामैना नगर सदस्य हुँदै सैनामैना–२ को सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय ज्ञवाली रोटरी क्लब अफ तिलोत्तमाका संस्थापक सचिव, सैनामैना जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष भइसकेका छन्।
शैक्षिक तथा व्यवसायिक क्षेत्रमा पनि सक्रिय ज्ञवाली कालोनी कान्तिपुर इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल हुन्। उनी सैनामैनाका युवा व्यवसायीका रूपमा समेत परिचित छन्।
नगर सभापतिमा निर्वाचित भए संगठनलाई वडा तहदेखि थप सक्रिय बनाउने, युवालाई पार्टी संगठनमा जोड्ने तथा कार्यकर्ताबीचको सम्बन्धलाई मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको ज्ञवालीले बताएका छन्। संगठनभित्र एकता र समन्वय कायम गर्दै पार्टीलाई थप प्रभावकारी रूपमा अघि बढाउने उनको एजेण्डा छ।
ज्ञवालीले आफ्नो कार्यकालमा लाभको पद नलिने र जनप्रतिनिधिका रूपमा उम्मेदवारी नदिने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।
राजनीतिक संगठनमा प्राप्त अनुभवसँगै सामाजिक, शैक्षिक र व्यवसायिक क्षेत्रको अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने लक्ष्यसहित ज्ञवालीले नेपाली कांग्रेस सैनामैना नगर सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

