बुटवल। गत बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘आउटल : दफा २१९’ दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म टिम अहिले देशभर प्रचारमा छ, जसअनुसार बुटवलमा दर्शकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
निर्माण टिमका अनुसार फिल्मले प्रदर्शनको पहिलो आठ दिनसम्म राम्रो व्यापार गरेको छ। निर्माता अमित अग्रहरीका अनुसार दर्शकको साथले फिल्मलाई अझ ऊर्जा दिएको छ र अब पार्ट-२ को सम्भावना पनि खुलेको छ।
फिल्मका मुख्य अभिनेता सुशिल श्रेष्ठ ले सामाजिक सञ्जालमा फिल्मको राम्रो प्रचार भएको र दर्शकको मायाले आफूलाई प्रेरित गरेको बताएका छन्। बुटवलबाट फिल्म यात्रा सुरू गरेका श्रेष्ठले बुटवलका दर्शकबाट विशेष साथ पाएको बताए।
निर्देशक विक्की महर्जन ले फिल्मको कथा बलियो भएकाले दर्शकले मन पराएको बताए। फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला मुख्य भूमिकामा छन्। समाजमा न्यायको विषय उठान गर्ने यो फिल्म एक्सन र भावनाले भरिएको छ। निर्माण पक्षले अझै केही समय हलमा राम्रो व्यापार हुने विश्वास लिएको छ।