राति यी खानेकुरा खानुहुन्छ? सावधान! निद्रामा असर पुर्‍याउन सक्छ

Shares

चकलेट: चकलेटमा क्याफिन हुन्छ। कालो खालको चकलेटमा क्याफिनको मात्रा अझ बढी हुन्छ। क्याफिनजन्य चिज खानाले मानिस थकानरहित हुन्छ र शरीरमा पाचनसम्बन्धी रासायनक्रिया तीव्र बन्छ। साथै, यसले शरीरलाई डिहाइड्रेट गराउँछ। सुत्नुअघि मानिसको शरीरमा यस्ता परिवर्तन आउनु ठीक मानिँदैन।

मसलायुक्त खाना: सुतेको बेला मानिसको पाचन प्रक्रिया ढिलो सञ्चालनमा आउँछ। मसलायुक्त खाना पचाउन बढी समय लाग्छ। यस्तो खाना खाइयो भने गहिरो निद्रा लाग्दैन। यसले शरीरको तापक्रमसमेत घटाउने भएकाले मिठो निद्राका लागि यो राम्रो मानिँदैन। यस्तो खाना खाएर सुत्दा ऐँठन हुने सम्भावनासमेत भएको मन्ट्रियल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले देखाएको छ।
कफी: खाना खाइसकेर सुत्नुअघि कफी खाने बानी राम्रो होइन। सुत्ने बेलामा कफी खाइयो भने निद्रा पर्न अप्ठेरो हुन्छ।

मदिरा: मदिराजन्य पदार्थ पिउनाले मिठो निद्रा पर्ने आम मान्यता छ। तर, मिठो निद्रा पर्नुको अर्थ रातमा पटक–पटक नबिउँझनु पनि हो। बियर, रक्सी, वाइन आदि खाएर सुत्दा सुरुमा गहिरो निदाइए पनि रातमा पटक–पटक उठ्नुपर्छ।

रातो मासु बदाम, दूध, चिज आदिमा प्रोटिनको मात्रा सन्तुलित मात्रामा पाइन्छ, जसले मिठो निद्रा लगाउँछ। रातो मासुमा प्रोटिन उच्च मात्रामा पाइन्छ। यसले अनिद्राको समस्या उत्पन्न गराउँछ। किनभने, प्रोटिन पचाउन शरीरलाई अप्ठेरो हुन्छ। साथै, प्रोटिनमा पाइने एमिनो एसिडले दिमागलाई चनाखो राख्छ र निद्रा पर्न दिँदैन।

केही तरकारी: फलफूल र तरकारी स्वास्थ्यका लागि राम्रो हो। यसले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने गर्छ। तर, कुनै–कुनै फलफूल र तरकारी यस्ता हुन्छन्, जसलाई सुत्नुअघि खायो भने निद्रा पर्दैन। काउली, ब्रोकाउलीलगायत तरकारीमा पाइने तत्वले दिमागमा उत्पन्न हुने ट्राइप्टोपान नामक एमिनो एसिडको प्रभावलाई कमजोर बनाइदिन्छ। ट्राइप्टोपान मिठो निद्रा लगाउन आवश्यक हुन्छ। त्यस्तै, बन्दाकोबी, कोसे तरकारी, सेतो च्याउ, गोलभेँडालगायत तरकारी पनि सुत्नुअघि भरिसक्के खानु हुँदैन।

मिठाई: सुत्नुअघि मिठाई, केक, चकलेट, कुकिज अथवा आइसक्रिम खाने बानी कसैकसैमा हुन्छ। यसले मनलाई आनन्द त देला, तर मिठो निद्रा दिँदैन। यस्ता खाद्य पदार्थमा चिनीको मात्रा उच्च हुन्छ, जसलाई राती सुत्ने बेला नियमित खानाले निद्रा पर्दैन।

जंक फुड: खाना बनाउन अल्छी मानेर राती जंक फुड खाएर सुत्नेको संख्या बढिरहेको छ। क्यान्डी बार, पोट्याटो चिप्स, चाउचाउलगायत फास्ट फुडलाई डिनरका रूपमा खानेको संख्या बढिरहेको छ। तर, यस्ता खानामा फ्याट र सुगरको मात्रा बढी हुन्छ, जसले निद्रा उत्पन्न गराउने हार्मोन काट्ने काम गर्छ।

राती यस्ता खाना खानाले मोटाउने समस्या पनि हुन्छ। किनकि, यस्ता खाना खाएपछि शारीरिक श्रम गर्ने खालको परिस्थिति चाहिन्छ। राती यस्ता खाना खाएर सुत्ने गर्नाले शरीरमा बोसोको मात्रा बढ्न पुग्छ।

-(ऐजेन्सीको सहयोगमा)

You may also like