बुटवल लायन्स आँखा अस्पताललाई दीर्घकालीन व्यवस्थापनको तयारी, सेवा विस्तारमा स्थानीय तहको जोड

by समतल अनलाइन
73Shares

बुटवल । बुटवल लायन्स आँखा अस्पताल जिल्ला परियोजना सल्लाहकार समितिको बैठक शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल पमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल ले आँखा अस्पताललाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न आवश्यक सहयोग गर्ने बताइन् । उनले अस्पतालका लागि एक विगाहा जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै आगामी बजेटमार्फत समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले आँखा अस्पताललाई सबै स्थानीय तहको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । अस्पतालले हजारौं नागरिकलाई दृष्टि दिने काम गरेको भन्दै यसको सेवा अझ विस्तार गर्न आवश्यक रहेको बताइन् ।

त्यसैगरी कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाई ले आँखा स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सबै स्थानीय तहले अपनत्वका साथ अघि बढाउनुपर्ने बताए । उनले बुटवल लायन्स आँखा अस्पतालले लामो समयदेखि नागरिकलाई दृष्टि दिने काम गर्दै आएको उल्लेख गर्दै अस्पतालको सेवा विस्तार र पूर्वाधार विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा नेत्ररोग विशेषज्ञ तथा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विवेक उपाध्याय ले अस्पतालको विगत, वर्तमान सेवा अवस्था तथा आगामी योजनाबारे जानकारी गराएका थिए । उनले नेपाल नेत्र ज्योति संघ अन्तर्गत रहेको बुटवल आँखा अस्पताल २०३५ सालमा स्थापना भएको र २०५३ सालदेखि लायन्स आँखा अस्पतालका रूपमा नियमित आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।

उनका अनुसार अस्पतालले गत आर्थिक वर्षमा मात्रै ५३ हजार ६०५ जनालाई सेवा दिएको छ । मोतियाबिन्दु लगायत विभिन्न आँखासम्बन्धी रोगको उपचार तथा शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालन भइरहेको उनले बताए । विद्यालय केन्द्रित आँखा परीक्षण कार्यक्रम अन्तर्गत करिब ७० हजार विद्यार्थीको आँखा परीक्षण गरिएको जानकारी पनि उनले दिए ।

डाक्टर उपाध्यायले अस्पतालले विभिन्न स्थानीय तहसँग सहकार्य गरेर समुदायस्तरमा आँखा स्वास्थ्य सेवा विस्तार गरिरहेको उल्लेख गरे । सिटी क्लिनिकमार्फत समेत सेवा प्रवाह भइरहेको बताउँदै आगामी दिनमा सेवा विस्तार, पूर्वाधार विकास र आधुनिक उपकरण व्यवस्थापनमा जोड दिइने बताए ।

कार्यक्रममा शुद्वोदन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच बढाउन स्थानीय तहले सहकार्य गरिरहेको बताए ।

त्यसैगरी देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कासिनाथ बन्जाडेले समुदायस्तरमा आँखा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

अस्पताल व्यवस्थापन समितिका सदस्य अर्जुनमान सैजु तथा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक ज्ञवाली ले अस्पतालको सेवा विस्तार र पूर्वाधार विकासमा सहकार्य आवश्यक रहेको बताएका थिए ।

अस्पताललाई भविष्यमा अर्को उपयुक्त स्थानमा स्थानान्तरण गरी व्यवस्थित पूर्वाधारसहित सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो । सहभागीहरूले आँखा उपचार सेवालाई अझ पहुँचयोग्य बनाउन स्थानीय तह, अस्पताल र सरोकारवालाबीच सहकार्य बढाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रम सञ्चालन मनोज श्रेष्ठले गरेका थिए ।

You may also like