भैरहवाबाटै श्रम स्वीकृति र मेडिकल जाँचको तयारी, काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै

by समतल अनलाइन
25Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकार सक्रिय रूपमा लागिपरेको बताएका छन्। यसका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग निरन्तर छलफल भइरहेको उनले जानकारी दिए।

मन्त्री पौडेलले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको प्रमुख कारण पर्याप्त यात्रु सङ्ख्या (लोड) नपुग्नु रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि बहुआयामिक रणनीति अघि बढाइएको बताए।

उनका अनुसार विभिन्न एयरलाइन्स कम्पनीहरूले नेपाल उडान सञ्चालन गर्न इच्छा व्यक्त गरे पनि पर्याप्त यात्रु सुनिश्चित हुनुपर्ने चासो राखेका छन्। त्यसैले यात्रु सङ्ख्या वृद्धि गर्ने उपायबारे पर्यटन व्यवसायीसँग समेत छलफल भइरहेको उनले बताए।

मन्त्री पौडेलले बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गर्दै विश्वभरका बौद्ध धर्मावलम्बी पर्यटकलाई सिधै भैरहवा अवतरण गराउने अवधारणामा सरकार अघि बढिरहेको जानकारी दिए। यसका लागि श्रीलंका, भियतनाम, म्यानमार र भुटानलगायत बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेका मुलुकका राजदूतहरूसँग नियमित उडान विस्तारबारे छलफल भइरहेको उनले बताए।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द नभई सञ्चालनमै रहेको स्पष्ट पार्दै नियमित अन्तर्राष्ट्रिय उडानको संख्या बढाउन यात्रु व्यवस्थापन र बजार विस्तारमा ध्यान केन्द्रित गरिएको बताए।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सहजता प्रदान गर्न अनलाइन श्रम स्वीकृति प्रणाली सुरु भइसकेको उल्लेख गर्दै उनले अब पोखरा र भैरहवाबाटै स्वास्थ्य परीक्षण (मेडिकल जाँच) को व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए। साथै, म्यानपावर कम्पनीहरूलाई लुम्बिनी क्षेत्रमै केन्द्रित गर्न श्रम मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले बताए।

यसैबीच, लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री पौडेलले उक्त पदलाई परराष्ट्र मन्त्रालय र राजदूत सरहको संवेदनशील जिम्मेवारीका रूपमा हेर्नुपर्ने बताए। योग्य, सक्षम र जिम्मेवार व्यक्तिलाई नियुक्त गर्न सरकार गम्भीर रहेको उनको भनाइ छ।

You may also like