वाणिज्य क्याम्पसमा खेलकुद सप्ताह सम्पन्न

by समतल अनलाइन

बुटवल । देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४४औं वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन्।

माघ १८ गतेदेखि सुरु भएको खेलकुद सप्ताहअन्तर्गत “समृद्धिका लागि उद्यमशीलता” विषयक वक्तृत्वकला प्रतियोगितामा बिबिए आठौं सेमेस्टरकी अस्मिता खनाल प्रथम, बिबिएस दोस्रो वर्षकी प्रकृति पाण्डे दोस्रो तथा बिबिए सातौं सेमेस्टरकी सुरक्षा भट्टराई तेस्रो स्थान हासिल गर्न सफल भए।

चेस प्रतियोगितामा बिबिएस दोस्रो वर्षका अनिल भण्डारी प्रथम, बिबिएम-अप्लाईड आठौं सेमेस्टरका प्रज्वल बस्नेत दोस्रो तथा बिबिए सातौं सेमेस्टरकी कुमारी कनक लता गुप्ता तेस्रो भए। बास्केटबल प्रतियोगितामा छात्रतर्फ बिबिएसको समूह विजयी भएको छ भने छात्रातर्फ बिबिए समूहले जित हासिल गरेको छ।

चित्रकला प्रतियोगितामा सरोज पन्थी प्रथम, शिशिर खनाल दोस्रो तथा बल्लभी राना र अस्मिता खनाल तेस्रो भए। एक मिनेट कार्यक्रममा सपना भट्टराई प्रथम, कनक लता गुप्ता दोस्रो तथा बल्लभी राना तेस्रो भए। क्रिकेट प्रतियोगितामा छात्रतर्फ बिबिएस दोस्रो वर्षको समूह र छात्रातर्फ बिएमएसको समूह विजयी भए। टग अफ वार प्रतियोगितामा छात्रातर्फ बिबिएस चौथो वर्षको समूह तथा छात्रातर्फ बिएमएस समूहले जित हात पारे।

टेबल टेनिस प्रतियोगितामा छात्रातर्फ बिएमएसकी मौसम अर्गली प्रथम, बिबिएकी लिमा सिरिस दोस्रो तथा बिएमएसकी सुस्मिता थापा तेस्रो भए। छात्रतर्फ अनिल भण्डारी प्रथम, प्रवेश थापा दोस्रो तथा अक्षय श्रेष्ठ तेस्रो भए।

छात्रा भलिबल प्रतियोगितामा बिबिएसको समूह विजयी भएको छ भने छात्रतर्फ बिबिएस दोस्रो वर्षको समूहले जित हात पारे। व्यवस्थापन हाजिरीजवाफ प्रतियोगितामा बिबिए सातौं सेमेस्टर सेक्सन ‘बी’ को समूह प्रथम, सेक्सन ‘ए’ को समूह दोस्रो तथा बिबिएस चौथो वर्षको समूह तेस्रो भए।

कविता, गजल तथा मुक्तक प्रतियोगितामा बिबिएका शिशिर खनाल प्रथम, बिबिएकी सुस्मिता पराजुली दोस्रो, बिबिएस प्रथम वर्षकी छमकला न्यौपाने तेस्रो तथा बिबिएका सन्देश पौडेल सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए। १०० मिटर दौड प्रतियोगितामा छात्रतर्फ अमृत राना प्रथम, आदर्श राना दोस्रो तथा किरण बहादुर थापा तेस्रो भए भने छात्रातर्फ सम्झना घिमिरे प्रथम, स्मारिका पन्थी दोस्रो तथा समृद्धि पन्थी तेस्रो भए।

खेलकुद सप्ताह अन्तर्गत आइतबार शिक्षक, कर्मचारी तथा स्ववियूबीच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो। क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले शुभारम्भ गर्नुभएको उक्त खेलमा ५ मध्ये ३ खेल जित्दै स्ववियू विजयी भएको थियो।

क्याम्पसले साताव्यापी कार्यक्रमको आयोजना गरी फागुन ६ गते मूल समारोहका साथ ४४औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। वार्षिकोत्सवलाई भव्य बनाउन १४ वटा उपसमिति गठन गरिएका छन्। साथै, रक्तदान कार्यक्रम, सांस्कृतिक कार्यक्रम लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिने ४४औं वार्षिकोत्सव समारोह मूल संयोजक उपप्राध्यापक मधुकर शर्माले जानकारी दिनुभयो।

 
 
  
 

You may also like