मनसुन कहिले बाहिरिन्छ ? अब केही दिन मात्रै बाँकी

by समतल अनलाइन
71Shares

काठमाडौं । नेपालमा यस वर्षको मनसुन अन्तिम चरणमा पुगेको छ। मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष औपचारिक बहिर्गमनको घोषणा भने अझै हुन बाँकी छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन भित्रिने र बाहिरिने मिति हरेक वर्ष केही दिन तलमाथि हुने गर्छ। यस वर्ष असार ५ गते नेपाल प्रवेश गरेको मनसुन अहिले पश्चिम नेपालबाट क्रमशः कमजोर हुँदै बाहिरिने अवस्थामा पुगेको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिम नेपालमा मनसुन बहिर्गमनका लागि आवश्यक मौसमी अवस्था बन्न थालेको छ। अब एक–दुई दिनसम्म ती अवस्था निरन्तर रहेपछि मनसुन बाहिरिएको औपचारिक घोषणा गरिनेछ।

उनका अनुसार मनसुन बाहिरिएको पुष्टि गर्न वर्षा कम हुनु मात्रै पर्याप्त हुँदैन। वायुमण्डलमा रहेको आर्द्रता घट्नु, पूर्वबाट बहने मनसुनी हावा कमजोर हुनु र पश्चिमी वायुको प्रभाव बढ्नु आवश्यक हुन्छ। साथै, वर्षा गराउने प्रणाली पनि मनसुनी प्रणालीबाट परिवर्तन भएर पश्चिमबाट आउने मौसमी प्रणालीमा आधारित हुनुपर्छ।

‘पश्चिम नेपालबाट मनसुन बाहिरिने आधारहरू पूरा हुने क्रममा छन्। एक–दुई दिन अवस्था हेरेर पुष्टि भएपछि औपचारिक घोषणा गर्छौं,’ अधिकारीले बताए।

मनसुन बहिर्गमनको अवस्था निर्धारण गर्दा तल्लो वायुमण्डलसँगै माथिल्लो वायुमण्डलको अवस्थालाई पनि विश्लेषण गरिन्छ। विशेषगरी जेट स्ट्रिमको गतिविधि र उपल्लो वायुमण्डलमा सबट्रपिकल जेट स्ट्रिमको प्रभाव देखिन थालेको अवस्थालाई समेत महत्त्वका साथ हेरिन्छ।

पश्चिम नेपालमा अहिले मनसुन बहिर्गमनका अधिकांश आधार पूरा हुने क्रममा रहेकाले यस वर्ष औसत मितिभन्दा धेरै ढिला मनसुन बाहिरिने अवस्था नरहेको अधिकारीको भनाइ छ।

भारतमा समेत मनसुन फिर्ता हुने क्रम सुरु भइसकेको छ। तर भारतको भूभाग ठूलो भएकाले त्यहाँ सबै क्षेत्रबाट मनसुन हट्न भने अझै समय लाग्ने बताइएको छ।

नेपालबाट मनसुन बाहिरिएपछि तत्कालै वर्षा पूर्ण रूपमा रोकिने भने हुँदैन। पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणालीका कारण मनसुनपछि पनि केही स्थानमा वर्षा हुन सक्छ। त्यसैले मनसुनको बहिर्गमनलाई वर्षायाम पूर्ण रूपमा समाप्त भएको अर्थमा लिन नहुने मौसमविद्हरू बताउँछन्।

हाल देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको अधिकारीले जानकारी दिए। आज पनि थोरै स्थानमा मात्रै वर्षा हुने सम्भावना रहेको र पर्सितिर वर्षाको गतिविधि केही बढ्न सक्ने भए पनि ठूलो वर्षाको सम्भावना नरहेको उनले बताए।

उनका अनुसार एक–दुई स्थानमा भने मध्यमसम्मको वर्षा हुन सक्छ।

पश्चिमी वायुको प्रभाव क्रमशः बलियो हुँदै जाँदा र पूर्वीय मनसुनी वायु कमजोर हुँदै गएपछि आगामी केही दिनमै नेपालबाट मनसुन औपचारिक रूपमा बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

You may also like