काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीति र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन् । आज (शनिबार) काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार मन्त्रालयको पहिलो काम भएको बताएका हुन्।
उनले सोहीअनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसदमा दर्ता गरिएको बताएका छन् । उनले भने, ‘नागरिकतासम्बन्धी विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धी ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचनसम्बन्धी ऐन पनि अगाडि बढाएका छौँ । जग्गाप्राप्ति सम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ । यस्तै संघसंस्था सम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीनवटा कानुन संशोधनकालागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउछौँ । चाँडै पास गर्छाैं ।’
नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको पनि गृहमन्त्री लेखकले बताएका छन् । उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धी विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको भन्दै विधेयकमा भएको कमी कमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्ने बताए ।
नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरुमा महत्वपूर्ण काम गरेको पनि जानकारी दिए । उनले भने, ‘क्लबको नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ ।’ यस्तै, गृहमन्त्री लेखकले लागू औषध दुव्र्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक सञ्जालको दुरुपयोग मुख्य चुनौति देखिएको पनि उल्लेख गरे ।