इमरान खान,कपिलवस्तु। विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड -१९ कोरोना भाइरस संक्रमण कालमा कपिलवस्तुमा फ्रन्ट लाईनमा रही कोभिड संक्रमण विरुद्ध नागरिक अभियानमा सक्रियताका साथ महत्वपूर्ण योगदान पुर्याएको भन्दै साझा प्रयास अभियान कपिलवस्तुका संयोजक रवि ठाकुरलाई अमेरिका स्थित एक संस्थाले सम्मान पत्र पठाएको छ ।
अमेरिका स्थित एशोसिएसन अफ ईमरजेन्सी रिसर्च ईन अमेरिका नामक संस्थाले अभियन्ता ठाकुरलाई सम्मान गरेको हो । कोभिड संक्रमण हटेपछि दिन तय गरेर अभियन्ता ठाकुरलाई औपचारिक कार्यक्रम विच अमेरिकामा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

अमेरिकन संस्थाबाट प्राप्त गरेको यो सम्मानबाट आफुमा थप जिम्मेवारी बढेको बोध भएको अभियन्ताका संयोजक ठाकुरले सन्चारकर्मी इमरान खानलाई बताउनु भएको छ । कोभिड संक्रमण विरुद्ध अक्सिजनको व्यवस्थापन, स्वास्थ्य संस्थाहरुमा सहयोग, कोभिड संक्रमितका परिवार तथा सर्वसाधारणहरुलाई नि:शुल्क खाना नास्ताको व्यवस्था, लक डाउनको मारमा परेका विपन्न परिवारहरुलाई राहत वितरण लगायतका काममा अभियन्ता ठाकुर सक्रिय भई लागेका छन । कोभिड संक्रमणको त्रासमा सवै घर घरमै सुरक्षित ढंगबाट बसिरहेका बेला अभियन्ता ठाकुर भने कोभिड विरुद्धको अभियानमा सक्रियताका साथ फ्रन्टलाईनमा उभिएर काम गरिरहेका छन । अभियन्ता ठाकुर कपिलवस्तु जिल्लाका क्रियाशील अधिकारकर्मी तथा नागरिक अभियन्ता समेत हुन । मधेश मानव अधिकार गृहको अध्यक्ष समेत रहेका ठाकुर विपन्न समुदायको एक भरपर्दो सहयोगीको रुपमा जिल्लामा परिचित छन ।