पाल्पाको कालीगण्डकीमा पौडी खेल्दा दुई बेपत्ता, एक मृत फेला

by समतल अनलाइन
142Shares

पाल्पा । पौडी खेल्दा पाल्पाको कालीगण्डकी नदीको बगनासकाली गाउँपालिका–७, दैलातुङमा बेपत्ता दुई मध्ये एक जना बुधबार मृत फेला परेका छन् । अर्का एक जनाको खोजीकार्य जारी छ ।

मंगलबार नयाँ वर्षका दिनमा साथीभाईसंग कालीगण्डकी नदीमा गएका बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल (मदन) मृत अवस्थामा भेटिएका हुन् । उनको शव कालीगण्डकी नदीको बीच भागमा भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता ३९ वर्षीय शरण भुसालको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार करिब ५ बजेको समयमा पौडी खेल्ने क्रममा डुबी वेपत्ता भएको स्थानीयले जानकारी दिएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी पुगेको थियो । प्रहरी र स्थानीय बासिन्दाले कालीगण्डकी नदी किनारमा खोजतलास गरेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले बताए ।

बुधबार बिहानैदेखि कालीगण्डकी नदीमा पुनः खोजीकार्य जारी रहेको बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङ्का स्थानीय कृष्ण भुसालले जानकारी दिए । वेपत्ता बस्याल चन्द्र मावि चापपनीमा इन्जियिनरतर्फका शिक्षक हुन् । भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए ।

You may also like

This will close in 0 seconds