बुटवल । स्थानीय सीप, कला तथा रैथाने उत्पादनको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले बुटवलमा ‘स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ आयोजना गरिने भएको छ।
स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आगामी वैशाख ५ गते उक्त प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो। प्रदर्शनी रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–६, ट्राफिक चोकस्थित पुरानो फिल्महल परिसरमा सञ्चालन हुने बताइएको छ।
प्रतिष्ठानका अनुसार कार्यक्रम जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको सहकार्यमा आयोजना हुन लागेको हो। यसको मुख्य उद्देश्य स्थानीय स्तरमा रहेका परम्परागत सीप, हस्तकला, मौलिक कला तथा उत्पादनलाई उजागर गर्दै तिनको बजार विस्तारमा टेवा पुर्याउनु रहेको छ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विक ले यस प्रकारको प्रदर्शनी नेपालमै नयाँ र पहिलो प्रयास भएको बताए ।
उनले परम्परागत तथा रैथाने उत्पादनले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भएकाले यस्ता उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रदर्शनीमा स्थानीय सीपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादन, जातीय पहिचान झल्काउने सामग्री, कला–संस्कृतिसँग सम्बन्धित सामग्रीसहित करिब ५० वटा स्टल रहने जनाइएको छ। साथै, मौलिक खाना परिकार, झाँकी तथा विविध सांस्कृतिक प्रस्तुति पनि समावेश गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस प्रदर्शनीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै स्थानीय कलाकार, शिल्पी तथा उद्यमीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।



