नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

by समतल अनलाइन
54Shares

काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउने मान्यता दिएसँगै आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताए ।

‘आरोग्य केवल रोग नहुनु मात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो’, उनले भने ।

सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु सङ्कट र मानसिक तनावका बीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने बताए । नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

‘हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ, अब सङ्ख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ’, सभामुख अर्यालले भने ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्ने बताए । ‘आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नैभित्र फर्किने साहस हो, यो आत्माको मौनता बुझ्ने कला हो’, उनले भने ।

विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्वमा आरोग्य अति आवश्यक भएको उनको भनाइ थियो । विश्वले खोजेको शान्ति नेपालले दिन सक्ने मन्त्री पौडेलले बताए । सोही अवसरमा उनले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गरे ।

कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको बताए । उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउँदै आर्थिक समृद्धिसँग जोड्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा र दीर्घकालीन बसाइ नीतिको खाँचो रहेको बताए ।

You may also like