रुपन्देही उद्योग संघको ४३ औं साधारण सभा सम्पन्न , यस बर्षको पत्रकारिता पुरस्कार कृष्ण खनाललाई

by समतल अनलाइन
302Shares

बुटवल । रुपन्देही उद्योग संघ ४३ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसकै अवसरमा सोमबार ४२ औं वार्षिक साधारणसभा, सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारका अर्थमन्त्री एवं नेकपाका महासचिव बिष्णु पौडेलले रुपन्देही जिल्ला आर्थिक, पर्यटन, उद्योग र सामाजिक गतिविधिका हिसाबले देशकै अग्रस्थानमा स्थापित हुने बताउनु भएको छ ।

पौडेलले रुपन्देहीका हरेक बिकास निर्माणका कामको नेतृत्व र जिम्मेवारी समेत आफुले लिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नेपाली उद्योगी व्यवसायीले उठाउँदै आएका औद्योगिक क्षेत्रको बिकास, बिद्युत डिमाण्ड शुल्क, ट्रन्कलाईन लगायतका समस्याहरु प्रति आफ्नो ध्यान केन्द्रित भएको र ती समस्या समाधानमा उद्योगीको साथमा सधै रहने बताउनु भयो ।

रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका अर्थमन्त्री पौडेलले कोरोना महामारिका कारण सरकारको अहिलेको ध्यान स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनेतर्फ केन्द्रित भएको र सोही अनुरुप सोमबार देशका ३ सय ९६ वटा पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गर्न लागिएको जानकारी दिनुभयो ।

संघका अध्यक्ष बाबुराम बोहोराले औद्योगिक क्षेत्रको अभावमा महङ्गो जग्गा लिएर उद्योग संचालन गरेका उद्योगीहरुलाई प्रोत्साहन गर्नेगरी सरकारले कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । अध्यक्ष बोहोराले संघको स्थापना, औद्योगिक गतिविधि, वर्तमान समयमा उद्योगीहरुले भोग्नु परिरहेका समस्याहरु समाधानका निम्ति संघ मार्फत भए गरेका पहलहरु सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संघका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । साथै सोही अवसरमा संघद्वारा २०५७ सालमा स्थापित उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार वितरण गरिएको थियो । ३५ हजार ५ सय ५५ राशिको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७६बाट पत्रकार कृष्ण खनाललाई पुरस्कृत गरिएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष माधव प्रसाद पौडेलको स्वागत, सचिव हिरामणी भट्टराईको संचालन तथा प्रथम उपाध्यक्ष दिलिप सापकोटाको धन्यवादमा सम्पन्न कार्यक्रममा महासचिव जिवकान्त काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, संघका अध्यक्ष परिषदका संयोजक सतिषचन्द्र कशौधन, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, पुरस्कृत पत्रकार कृष्ण खनाल लगायतले शुभाकामना मन्तव्य राख्नु भएको थियो ।

समारोहको बन्द सत्रबाट संघको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम, अनुमोदन गरिएको थियो । सभामा आजिवन सदस्यता, युवा उद्यमी मञ्च गठन, स्थानीय तहगत समिति गठन लगायतका विषयहरु समेटिएको संघको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो । कार्यक्रम जुम मार्पmत अनलाइन तथा लुम्बिनी सामुदायिक टेलिभिजन र बुद्ध टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

 

You may also like

This will close in 0 seconds