मेलम्चीको सम्पूर्ण काम ठप्प, वार कि पारको अन्दोलनमा संघर्ष समिति

by समतल अनलाइन
Shares

काठमाडौं। सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ । यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले बुधबारदेखि आयोजनाको काम ठप्प पारी आन्दोलन थालेको हो ।

आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेपछि उसको करारमा रहेको लोकल भेन्डर, सब–कन्ट्राक्टर, स्थानीय मजदुरले भुक्तानी पाउनुपर्ने मुख्य माग समितिले राखेको छ ।

समितिले दुई महिनाअघि पनि आयोजनाको काममा अवरोध गरी आन्दोलन गरेको थियो । पछि सरकारले निर्णय गरेर उक्त समस्याको समाधान गर्ने आश्वासन पाएपछि समितिले आन्दोलनलाई स्थगित गरेको थियो ।

दुई महिनासम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनुपरेको समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए । ‘हामी हाम्रो मागप्रति कठोर छौं । काम गरेको भुक्तानी पाउनुपर्ने मुख्य माग हो । हामीले दोस्रोपटक आज (बुधबार)बाट फेरि आन्दोलन थाल्यौं’, उनले भने– ‘यो वार कि पारको आन्दोलन हो । ’

बैंक ग्यारेन्टी २ अर्ब १० करोड, डेढ अर्बको सम्पत्ति सीएमसीको रहेकाले त्यहींबाट ठेकेदारलाई भुक्तानी दिनुपर्ने समितिको माग छ । निर्माण कम्पनी, स्थानीय भेन्डर, मजदुर गरी १ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी लिनुपर्नेछ ।

स्थानीय भेन्डरको साढे १६ करोड, ८ सय जना स्थानीय मजदुरको साढे ८ करोड रुपैयाँ रकम भुक्तानी हुनै बाँकी छ । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकासित छ ।

You may also like

This will close in 0 seconds