आठ हजार मिटर अग्ला हिमालको सूचीमा नेपालका थप ६ हिमाल समावेश गराउन पहल

by समतल अनलाइन
35Shares

काठमाडौं । सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल थालेको छ ।

विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल पर्वतारोहण संघमार्फत सरकारले उक्त प्रस्ताव अघि बढाएको हो । प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ । नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ ।

नेपालले छुट्टै हिमालको मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८ हजार ५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८ हजार ४७६ मिटर), कञ्चनजङ्घा मध्य (८ हजार ४७३ मिटर), ल्होत्से मध्य (८ हजार ४१० मिटर), ल्होत्से शार (८ हजार ४०० मिटर) र यालुङ काङ पश्चिम (८ हजार ७७ मिटर) रहेका छन् ।

काठमाडौंमा सुरु भएको महासंघको साधारणसभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन् । नेपालले सन् १९८२ र २०११ पछि तेस्रोपटक महासंघको साधारणसभा आयोजना गरेको हो ।

प्रस्तावित हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै नयाँ पर्वतारोहण गन्तव्य पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले पर्वतारोहण गतिविधि विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

You may also like