दीपेन्द्र एनपीएल सिजन–३ का सर्वोत्कृष्ट खेलाडी, रिजनले जिते कार

by समतल अनलाइन
32Shares

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जित्दा व्यक्तिगत विधाका अधिकांश पुरस्कारमा पनि खेलाडीहरूले आकर्षक सफलता हात पारेका छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित हुँदा चितवन राइनोजका रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्।

शनिबार सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले तीन अर्धशतकको मद्दतले कुल २१८ रन बनाएका थिए। बलिङमा समेत प्रभाव जमाउँदै ६ विकेट लिएका उनले सर्वोत्कृष्ट खेलाडीबापत पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

चितवन राइनोजका रिजनले प्रतियोगिताभर १७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बने। उत्कृष्ट नेपाली खेलाडी घोषित भएका उनले ओमोडा एन्ड जेइको कार पुरस्कार पाए। रिजनले उत्कृष्ट बलरको उपाधिसमेत जित्दै पल्सर मोटरसाइकल प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट ब्याटरको अवार्ड विराटनगर किंग्सका लोकेश बमले हात पारे। उनले प्रतियोगिताभर २४२ रन बनाएका थिए। उक्त विधामा उत्कृष्ट बनेका उनले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे।
यस्तै, चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिश्राले रेड बुल इनर्जेटिक प्लेयरको अवार्ड जित्दै दुई लाख रुपैयाँ प्राप्त गरे। जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेयरको उपाधि जिते। उनले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल पाए।

फाइनलमा सुदूरपश्चिम रोयल्सलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका जर्ज मन्से प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिताको उपविजेता लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गर्‍यो।

फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा पहिलोपटक एनपीएलको उपाधि उचालेको हो। चितवन राइनोज प्रतियोगितामा तेस्रो स्थानमा रह्यो।

You may also like