बुटवल । मानसिक स्वास्थ्य सेवालाई रोगको निदान र औषधि उपचारमा मात्र सीमित नराखी व्यक्ति केन्द्रित, समावेशी तथा मानव अधिकारमा आधारित बनाउनुपर्नेमा एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । मनोचिकित्सक संघ नेपालको १२औँ राष्ट्रिय सम्मेलन ‘प्यानकन लुम्बिनी २०२६’ को उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले प्रत्येक व्यक्तिको सोच, भावना, अनुभव र अभिव्यक्ति फरक हुने भएकाले मानसिक स्वास्थ्यलाई पनि विविध दृष्टिकोणबाट बुझ्नुपर्ने सुझाव दिए ।
‘विविध मन, विविध अभिव्यक्ति ः दृष्टिकोणका विविधता र स्थापित सीमाभन्दा पर मानसिक स्वास्थ्यको बुझाइ’ भन्ने मूल विषयमा केन्द्रित सम्मेलनको कार्यक्रमको एक समारोहका बिच डा.सुरेन्द्र शेरचनले उद्घाटन गरे ।
मानसिक स्वास्थ्यसम्बन्धी परम्परागत सोच र चिकित्सकीय सीमाभन्दा माथि उठेर व्यक्तिको जीवनकथा, सामाजिक परिवेश, संस्कृति र मानवीय संवेदनालाई बुझ्न जरुरी रहेको संघका अध्यक्ष प्रा डा.सन्दिप सुवेदी बताए । उनले नेपालमा मानसिक रोगको बढ्दो भार, आत्महत्या, लागूपदार्थ तथा मादक पदार्थको दुरुपयोग, मनोसामाजिक तनाव, बेरोजगारी, वैदेशिक रोजगारी र प्राकृतिक विपद्का कारण मानसिक स्वास्थ्य क्षेत्रमा चुनौती थपिँदै गएको बताए । मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्राथमिक स्वास्थ्य सेवाकै तहबाट सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन, सर्वसुलभ तथा गुणस्तरीय उपचारको पहुँच र समुदायमा आधारित सेवाको विकास आवश्यक रहेको उनको भनाइ थियो । मानसिक स्वास्थ्य सेवा कुनै एक व्यक्ति वा पेशाको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै उनले मनोवैज्ञानिक, मनोरोग नर्स, सामाजिक कार्यकर्ता, स्वास्थ्यकर्मी, नीतिनिर्माता र अन्य सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको बताए ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना हुनु विशेष अर्थपूर्ण रहेको उल्लेख गर्दै पानकोन लुम्बिनीका संयोजक मौसमी थापाले लुम्बिनीको शान्ति, करुणा र मानवताको सन्देशलाई चिकित्सकीय अभ्यासमा समेत आत्मसात् गर्नुपर्ने बताईन । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, मनोचिकित्सक, अनुसन्धानकर्ता र विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।
शैक्षिक उत्कृष्टता, अनुसन्धान, नीतिगत पैरवी र व्यावसायिक सहकार्यका माध्यमबाट नेपालको मानसिक स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतालाई कार्यक्रममार्फत सहयोग हुने कार्यक्रमका साईन्टिफिक चेयर डा. सरस्वती ढुँगानाले बताईन । सम्मेलनमा विज्ञ प्रस्तुति, गोष्ठी, कार्यशाला, मौखिक तथा पोस्टर अनुसन्धान प्रसतुति र आवासिय चिकित्सकका अनुसन्धानहरु हुने उनले बताइन । उनका अनुसार प्यानकन केवल शैक्षिक सम्मेलन मात्र नभई ज्ञान, अनुभव र अनुसन्धान आदानप्रदान गर्ने तथा नेपालको मनोचिकित्सा क्षेत्रको भविष्यका लागि नयाँ योजना र साझेदारी निर्माण गर्ने साझा मञ्च हो ।
कार्यक्रम अन्तरगत विभिन्न समुहगत छलफलहरु गरिएको छ । औषधिले आत्महत्याको जोखिम बढाउँछ कि बढाउँदैन भन्ने विषय, डिमेन्सियाको पहिचान तथा व्यवस्थापन, मानसिक स्वास्थ्यका विविध आयाम र बसाइँसराइले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे प्रस्तुति तथा छलफल गरिएको छ । प्राध्यापक डा. रवि शाक्यले मानसिक स्वास्थ्यलाई विविध दृष्टिकोणबाट बुझ्नुपर्ने विषयमा मुख्य व्याख्यान प्रस्तुत गरेका छन् । त्यस्तै, प्राध्यापक डा. प्रमोद मोहन श्याङ्वाले बसाइँसराइ र मानसिक स्वास्थ्यको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य तथा स्थानीय प्रभावबारे विशेष व्याख्यान दिएका छन् ।
सम्मेलनमा गाँजा तथा यसको कानुनी व्यवस्थापन, मनोचिकित्सा अभ्यासमा यौनमनोवैज्ञानिक दृष्टिकोण र आत्महत्या रोकथामका लागि बहुविषयगत दृष्टिकोण, महिला तथा मानसिक स्वास्थ्य, सुत्केरीपछिको मानसिक स्वास्थ्य, बालबालिकामा स्क्रिनको प्रभाव, चिकित्सकहरूको मानसिक स्वास्थ्य, चिकित्सा शिक्षामा मनोचिकित्साको अध्यापन तथा तालिम र मनोचिकित्साको बदलिँदो स्वरूपबारे सत्रहरु संचालन भएको संघका महासचिव डा रचना शर्मा बस्नेतले बताईन । यसैगरि न्युरोआर्ट कार्यशालामार्फत मानसिक स्वास्थ्य र मनोवैज्ञानिक पुनस्र्थापनामा कलाको प्रयोगबारे समेत अभ्यास तथा छलफल गरिएको छ । साथै हेपाटाइटिस सी परीक्षण, लिथियम औषधिको प्रयोग, मदिरा सेवन त्याग्दा कलेजोका इन्जाइममा पर्ने प्रभाव र सिजोफ्रेनियामा बिरामीको आत्मबोधलगायत विषयमा अनुसन्धानमूलक प्रस्तुति समावेश छन् । कार्यक्रममा भारतसहित नेपालका करीब २५० बढि चिकित्सकहरु सहभागी छन ।
कार्यक्रममा बाल तथा मनोचिकित्सक क्षेत्रमा महत्वूर्ण योगदान दिएका डा. अरुणराज कुँवरलाई लाईफटाईम एचिभमेन्ट एवार्डबाट सम्मान गरिएको छ । उनले टेलि सेवा, समुदायमा आधारित मानसिक स्वस्थ्य सेवा शुरु गर्न योगदान दिएका थिए भने २ हजार बढी चिकित्सकहरुलाई, ४ सय नर्सहरुलाई मानसिक स्वास्थ्य तालिममा सहजिकरण गरेका थिए । यसैगरि बाल न्याय प्रणाली र बाल स्वस्थ्य क्षेत्रको सुधारमा उनको योगदान रहेको छ । यसैगरि मानसिक स्वस्थ्य क्षेत्रमा गरेको योगदान स्वरुप डा विष्णुप्रसाद शर्मा अवार्डबाट प्राडा.प्रमोद मोहन श्याङ्वालाई सम्मान गरिएको थियो । यसैबिच कार्यक्रममा प्राडा.टिएसएस रावद्धारा लिखित पुस्तक बिमोचन गरिएको थियो ।

