विज्ञान शिक्षा प्रवर्द्धनका लागि तीन प्रदेशका विद्यालयको प्रगति समीक्षा कार्यशाला सुरु

by समतल अनलाइन
120Shares

बुटवल । सामुदायिक विद्यालयमा विज्ञान विषयको पठनपाठनलाई प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विद्यालयहरूको दुईदिने प्रगति समीक्षा कार्यशाला सुरु भएको छ ।

शुक्रबार चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सुरु भएको कार्यशालामा विज्ञान विषय प्रवर्द्धनका लागि विद्यालय विकास योजना कार्यान्वयनको अवस्थाबारे समीक्षा भइरहेको छ । कार्यशालामा तीन प्रदेशअन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा एसियाली विकास बैंकका परामर्शदाता डा. प्रमोद भट्टले विज्ञान विषय प्रवर्द्धन कार्यक्रम लागू भएका विद्यालयहरूको प्रगति, असल अभ्यासको आदानप्रदान तथा आगामी कार्यक्रमका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले आर्थिक वर्ष २०८४/८५ सम्म सञ्चालन गरिने प्रमुख कार्यक्रम, बजेट विनियोजन, कार्यक्रम पहिचान तथा कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे समेत जानकारी गराएका थिए ।

िक्षा विभागका निर्देशक तथा सूचना अधिकारी नीमप्रकाश सिंह राठौरले पहाडी क्षेत्रबाट बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बताए । उनले सहर तथा तराई क्षेत्रमा भौतिक पूर्वाधार र विद्यार्थी संख्या बढाउन सक्ने सम्भावना भएका विद्यालयलाई लक्षित गरी ‘बिग स्कुल’ तथा दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयको अवधारणा अघि सारिएको जानकारी दिए ।
नेपालमा हाल विज्ञान विषय पठनपाठन हुने सामुदायिक विद्यालय ४१६ र निजी विद्यालय ४८१ गरी कुल ८९७ विद्यालय रहेका छन् । त्यस्तै, प्राविधिक धारतर्फ अध्यापन हुने सामुदायिक विद्यालयको संख्या ५२६ रहेको छ । विज्ञान समूह र प्राविधिक धार दुवै विषयको पठनपाठन हुने विद्यालय १३५ वटा छन् ।
विज्ञान विषय प्रवर्द्धन कार्यक्रमअन्तर्गत हाल देशभर १०९ वटा सामुदायिक विद्यालय समेटिएका छन् । विज्ञान विषय अध्यापन हुने विद्यालयमध्ये बागमती प्रदेशमा ७३, लुम्बिनी प्रदेशमा ६८ र मधेश प्रदेशमा ९६ वटा रहेका छन् ।

कार्यशालामा रुपन्देहीबाट नवीन औद्योगिक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवाली, कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली र शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकनाथ कँडेल सहभागी छन् ।
कार्यशालामा ४० वटा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको छ । कार्यक्रममा एसियाली विकास बैंकका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुको समेत उपस्थिति रहेको थियो ।
शिक्षा विभागका निर्देशक नीमप्रकाश सिंह राठौरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा विभागकी शाखा अधिकृत शान्ति विष्टले गरेकी थिइन् । कार्यक्रममा नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले स्वागत मन्तव्य राखेका थिए ।

You may also like