गुल्मी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
रुरुक्षेत्र गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट २ लाख ५० हजार रुपैयाँ तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको तर्फबाट समेत रकम संकलन गरी सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका अनुसार जनप्रतिनिधिहरूले आफ्नो मासिक सेवा–सुविधाको १० प्रतिशत, अधिकृतस्तरका कर्मचारी तथा माध्यमिक तहका विभिन्न श्रेणीका शिक्षकहरूले ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारी तथा प्राथमिक/निम्न माध्यमिक तहका शिक्षकहरूले ५ दिन बराबरको तलब र श्रेणीविहीन कर्मचारी, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताहरूले २ दिन बराबरको तलब सहयोग गर्नेछन्।
गाउँपालिकाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्राकृतिक विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःनिर्माणमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। गाउँपालिकाले विपद्को समयमा राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग पुर्याउन सबैमा अपिलसमेत गरेको छ।
भोटेकोशी बाढीले पछिल्लो समय रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ र प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम जारी छन्।

