रक्तसञ्चार सेवाको ६० वर्ष : स्वयंसेवी रक्तदानको अभियान, चुनौती र सुधारको आवश्यकता

by समतल अनलाइन
31Shares

रगत मानव जीवनको आधारभूत आवश्यकता हो। स्वस्थ व्यक्तिबाट संकलन गरिएको रगत तथा त्यसबाट तयार गरिएका रक्ततत्त्व आवश्यक परीक्षणपछि बिरामीलाई चढाउने प्रक्रियालाई रक्तसञ्चार भनिन्छ। आधुनिक चिकित्सा विज्ञानमा रक्तसञ्चार सेवाको इतिहास करिब चार सय वर्ष पुरानो भए पनि यसको वैज्ञानिक विकासले लाखौं मानिसको ज्यान बचाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सन् १६१६ मा वैज्ञानिक डा. विलियम हार्भेले मानव शरीरमा रक्तसञ्चार हुने तथ्य प्रमाणित गरे। त्यसपछि सन् १६६५ मा डा. रिचार्ड लोअरले एउटा कुकुरको रगत अर्को कुकुरमा सफलतापूर्वक सञ्चार गराए। जनावरको रगत मानिसमा चढाउने प्रयास असफल भएपछि मानव रगत मानवमै सञ्चार गर्नुपर्ने निष्कर्ष निकालियो।

सन् १८१८ मा डा. जेम्स ब्लन्डेलले मानवबाट मानवमा रगत चढाउन सकिने प्रमाणित गरे। त्यसपछि सन् १९०१ मा अष्ट्रियाली वैज्ञानिक Karl Landsteiner ले ए, बी र ओ रक्तसमूहको खोज गरे, जुन चिकित्सा विज्ञानको ऐतिहासिक उपलब्धि बन्यो। पछि आरएच (Rh) समूहको पहिचान भएपछि सुरक्षित रक्तसञ्चार अझ प्रभावकारी बन्यो। यही योगदानको सम्मानस्वरूप सन् १९३० मा उनलाई नोबेल पुरस्कार प्रदान गरियो। विश्व स्वास्थ्य संगठनले उनको जन्मदिन १४ जुनलाई सन् २००४ देखि विश्व रक्तदाता दिवसका रूपमा मनाउन थालेको हो।

नेपालमा रक्तसञ्चार सेवाको औपचारिक सुरुवात वि.सं. २०२३ श्रावण १२ गते वीर अस्पतालको एउटा सानो कोठाबाट भएको थियो। ‘लक्ष्मी ब्लड बैंक’ नाम दिइएको उक्त केन्द्रले पहिलो वर्ष १५७ युनिट रगत संकलन गरी बिरामीलाई उपलब्ध गराएको थियो। त्यतिबेला अधिकांश रगत पेशेवर रक्तदाताबाट संकलन हुने गरेको थियो भने स्वयंसेवी रक्तदाताको संख्या अत्यन्त न्यून थियो।

नेपाल रेडक्रस सोसाइटी स्थापना भएको तीन वर्षपछि सुरु भएको यो सेवा आज देशभर फैलिएको छ। हाल नेपाल रेडक्रस सोसाइटीले देशभर १०० भन्दा बढी स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा देशभरका ब्लड बैंकबाट २ लाख ९१ हजार ३१९ युनिट रगत संकलन गरिएको छ भने ४ लाख ४ हजार ५९७ युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई वितरण गरिएको छ।

वि.सं. २०४० मा सरकारले रगत बेचबिखनलाई पूर्ण रूपमा अवैध घोषणा गरेपछि स्वयंसेवी रक्तदान अभियानले गति लियो। त्यसपछि विभिन्न सामाजिक संस्था, युवा क्लब, बैंक, सहकारी, शैक्षिक संस्था, धार्मिक संस्था तथा राजनीतिक दलका भ्रातृ संगठनहरू नियमित रक्तदान कार्यक्रममा सहभागी हुन थाले।

वि.सं. २०४८ चैत २४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार रक्त संकलन तथा वितरणको मुख्य जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीलाई दिइयो। पछि रक्तसञ्चार नीति–२०७१ जारी भएपछि आवश्यक मापदण्ड पूरा गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाले पनि ब्लड बैंक सञ्चालन गर्न पाउने व्यवस्था गरियो। राष्ट्रिय रक्तसञ्चार ब्युरोले देशभर सञ्चालनमा रहेका ब्लड बैंकहरूको नियमन, अनुगमन तथा अनुमति दिने कार्य गर्दै आएको छ।

रुपन्देहीमा रक्तदान अभियान विशेष रूपमा सफल मानिन्छ। नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको स्थापना वि.सं. २०२७ श्रावण ७ गते भएको थियो भने वि.सं. २०३४ मा बुटवल ब्लड बैंक स्थापना गरिएको थियो। हाल बुटवल र सिद्धार्थनगर क्षेत्रबाट मात्रै आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ७ सय युनिट रगत संकलन भई ३९ हजार ४३ युनिट रगत तथा रक्ततत्त्व वितरण गरिएको छ।

तथ्यांकअनुसार पुरुष रक्तदाताको संख्या २८ हजार ६१६ रहेको छ भने महिला रक्तदाता ५ हजार ८४ अर्थात् करिब १५ प्रतिशत छन्। तर रगत प्रयोग गर्ने बिरामीमध्ये महिलाको संख्या पुरुषभन्दा बढी रहेको देखिन्छ। लुम्बिनी प्रादेशिक अस्पताल सबैभन्दा बढी रगत तथा रक्ततत्त्व प्रयोग गर्ने स्वास्थ्य संस्था बनेको छ।

रुपन्देहीमा करिब ६ सयभन्दा बढी संघसंस्थाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। स्वयंसेवी रक्तदाताहरूको सक्रियताले “रगत नपाए बुटवल जानू” भन्ने अभियानसमेत स्थापित भएको छ, जसले बुटवललाई रक्त व्यवस्थापनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित गराएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाले यस आर्थिक वर्षमा ४ हजार २७९ युनिट रगत संकलन गरी उत्कृष्ट संस्था बन्न सफल भएको छ। त्यसैगरी तिलोत्तमा शाखाले ९७० युनिट संकलन गरी तेस्रो स्थान हासिल गरेको छ। महिला रक्तदाताको सहभागिता बढाउन विशेष योगदान पुर्‍याएको भन्दै तिलोत्तमा शाखा सम्मानित भएको छ। देवदह शाखा तथा स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेड बुटवल पनि सम्मानित भएका छन्।

यद्यपि रक्तसञ्चार सेवामा केही चुनौती अझै बाँकी छन्। स्वयंसेवी रूपमा निःशुल्क दान गरिएको रगत तथा रक्ततत्त्व वितरण गर्दा विभिन्न संस्थाले लिने शुल्क, निजी अस्पतालमा देखिएको महँगो शुल्क तथा सेवा व्यवस्थापनबारे समय–समयमा प्रश्न उठ्दै आएका छन्। स्वयंसेवी रक्तदाताहरूले राज्यले सम्पूर्ण व्यवस्थापन खर्च बेहोरी बिरामीलाई रगत तथा रक्ततत्त्व निःशुल्क उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।

लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा रगत तथा रक्ततत्त्वको शुल्क निःशुल्क गर्ने निर्णयले सकारात्मक सन्देश दिएको छ। यसलाई देशभर विस्तार गर्न आवश्यक देखिन्छ। साथै, रक्त व्यवस्थापनमा पारदर्शिता, समान शुल्क, आधुनिक प्रविधिको प्रयोग तथा स्वयंसेवी रक्तदाता संस्थाहरूलाई थप भूमिका दिने नीति आवश्यक छ।

रक्तदान जीवनदान हो। सुरक्षित, नियमित र शतप्रतिशत स्वयंसेवी रक्तदान नै गुणस्तरीय रक्तसञ्चार सेवाको आधार हो। श्रावण १२ रक्तसञ्चार दिवसले विगत ६० वर्षको उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी, सर्वसुलभ र निःशुल्क रक्तसञ्चार सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा स्थापित हुनुपर्छ।

You may also like

This will close in 0 seconds