बाली जोगाउन वन कार्यालयको नयाँ उपाय: बाँदर हेरालुका लागि २० जनाको माग

by समतल अनलाइन
47Shares

काठमाडौं । संसदको चालू अधिवेशनमा बाँदरबारे गरमागरम बहस भयो । नहोस् पनि किन ? मध्यपहाड बाँदरको उपद्रवले आक्रान्त छ । मुखमुख आएको बाली बाँदरले सखाप पारिदिएको पीडा सांसदहरूले पोखेका थिए ।

हुन त अघिल्लो संसदमा पनि यसबारे मनग्गे बहस भयो । उपद्रव मच्चाउने वनकर नियन्त्रणको उपाय खोज्दै सांसदको एक प्रतिनिधिमण्डल भारतसम्म पुगेको थियो ।

भारत गएको उपसमितिले भारत पुगेर थाहा पाएको उपाय लागू गर्न नपाउँदै संसद विघटन भयो ।मध्यपहाडका को बालीनाली बाँदरले सखाप पारेपछि बन्ध्याकरण गर्ने कि नियन्त्रणका अरू उपाय छन् भनेर बहस उठिरहेका बेला जिल्ला वन कार्यालय अर्घाखाँचीले वन हेरालु मागेको छ । २० जना वन हेरालुलाई जनही १२ हजार ५०० का दरले तलबसमेत दिने गरी दरखास्त मागेको हो । संख्या थपघट हुनसक्ने वन कार्यालयले जनाएको छ ।

वन कार्यालयले बाँदर रूग्ने जागिर खुलाएपछि सामाजिक सञ्जालमा अर्को बहस सिर्जना भएको छ । कतिपयले यसलाई मजाकको विषयसमेत बनाएको पाइएपछि हामीले सूचना अधिकारी केशव खड्कालाई यसबारे सोध्यौं ।
उनले बाँदरले अर्घाखाँचीलाई आजित बनाएको र नियन्त्रणमा कुनै उपाय नलागेको बताए ।

‘अर्घाखाँची बाँदरको समस्याबाट आक्रान्त छ । यहाँको ६१ वटा वडा नै प्रताडित छ । अहिले मकै थन्क्याउने बेला भएको छ । तर किसानले भित्र्याउन पाए पो । हुलका हुल बाँदर पसेर सखाप पारेपछि उपाय निकालेका हौं,’ उनले भने ।

उनका अनुसार स्थानीय तह, वन उपभोक्ता समिति, प्रभावित क्षेत्रका बासिन्दाहरूको सुझावको आधारमा हेरालु खोजिएको हो ।

‘यहाँ रातिराति चितुवा, बँदेलको आतंक छ । दिउँसो बाँदरले अनाज सखाप बनाउँछ । मुखमुख आएको बाली बाँदरले ध्वस्त बनाएपछि किसान के गर्ने भनेर बिलखबन्दमा छन्,’ उनले भने ।

वन सम्बर्द्धन प्रणालीमा आधारित रहेर वन व्यवस्थापन गरेका समूहको लागत साझेदारीमा हेरालु खोजिएको हो ।

साउन १० गतेदेखि अगामी असोज १० गतेसम्म दुई महिनाका लागि हेरालु नियुक्त गर्न लागिएको उनले बताए ।

‘सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने, उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने । वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने । सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु, नर्सरी हेरालु, नाइके हेरालु वा सोही प्रकृतिको कार्यमा अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने आदि योग्यताक्रम निर्धारण गरिएको छ ।

उनीहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने तथा आवश्यक समन्वय गर्ने आदि काम गर्नुपर्ने छ ।

यसका अतिरिक्त बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी सम्बन्धित वडा तथा कार्यालयमा जानकारी गराउने,बाँदरलाई मानवीय तथा वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने काम गर्नुपर्ने छ ।

You may also like