कपिलवस्तु।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ। शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बसमा चालकसहित ४६ जना सवार थिए।
दुर्घटनामा बस चालक ४२ वर्षीय हरीसिंह महरा सहित विभिन्न जिल्लाका २२ यात्रु घाइते भएका छन्। घाइतेमध्ये महिला, पुरुष तथा एक दुई वर्षीय बालकसमेत रहेका छन्। उनीहरूको टाउको, हात, खुट्टा, छाती, कम्मर लगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई तत्काल जिल्ला अस्पताल तौलिहवामा पुर्याई प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनीहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।
दुर्घटनापछि बसमा रहेका बाँकी २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण केही समय अवरुद्ध बनेको हुलाकी सडक बसलाई क्रेनको सहायताले हटाएपछि दुवैतर्फ सञ्चालनमा आएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा बस आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि पल्टिएको देखिएको छ भने दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

