नेतृत्व हस्तान्तरणको प्रश्नमा प्रचण्डको जवाफ: अहिले नै छाड भन्नु जरुरी छैन

by समतल अनलाइन
40Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नेतृत्व हस्तान्तरणका विषयमा उत्तेजित र भावनात्मक नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। सोमबार आयोजित पार्टीको केन्द्रीय कमिटीको जुम बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले पार्टी पुनर्गठनको प्रक्रिया चलिरहेकाले नेतृत्व परिवर्तनका विषयमा हतारिनु आवश्यक नरहेको बताएका हुन्।

पार्टीभित्र बढ्दो पुस्तान्तरणको माग र बहसलाई सम्बोधन गर्दै संयोजक दाहालले आफूहरूले नयाँ नेतृत्व स्थापित गर्ने तयारी गरिरहेको बताए। उनले भने, “नयाँ नेतृत्व स्थापित गर्ने हो, युवाहरूलाई ५० प्रतिशत स्थान दिने कुरा त्यसै भनेको होइन। हामी पार्टी पुनर्गठन गर्दै छौँ, त्यसैले अहिले नै नेतृत्व छाड भन्नु जरुरी छैन।”

उनले पुस्तान्तरणको विषयलाई ‘द्वन्द्ववादी’ दृष्टिकोणले हेर्नुपर्ने बताउँदै यसलाई साम्राज्यवादीहरूले प्रचार गरेजस्तो दुई पुस्ताबीचको लडाइँका रूपमा बुझ्न नहुने स्पष्ट पारे। उनले थपे, “हामी आफैँ पुनर्गठनको कुरा गरिरहेका छौँ, तपाईंहरू किन उत्तेजित हुनुहुन्छ?”

बैठकमा पार्टीका सहसंयोजक माधवकुमार नेपालले सांगठनिक एकताको कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा जोड दिए। उनले असारभित्रै एकताका बाँकी सबै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिए।

“गफ र हल्ला गरेर मात्र हुँदैन, काममा देखिनुपर्छ,” सहसंयोजक नेपालले भने। उनले विभिन्न पार्टीहरूको समायोजनपछि केही असन्तुष्टिहरू देखिनु स्वाभाविक भए पनि ती विषयहरू पार्टी एकताबद्ध हुन नसक्ने खालका नभएको स्पष्ट पारे। उनले नेकपालाई नयाँ उचाइमा पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताए।

You may also like