बुटवल । सामाजिक संस्था पहिलो पाइला नेपाल बुटवल शाखाले शिक्षा तथा सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत अर्घाखाँचीमा एकै चरणमा तीनवटा कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सन्धिखर्क नगरपालिका–११ स्थित डिभर्नामा रहेको विद्या प्रकाश आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई ‘भाग्य बोक्ने झोला’ अभियानअन्तर्गत विद्यालय झोला वितरण गरेको हो। आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिल्ने विश्वासका साथ झोला वितरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिका–११ का वडा अध्यक्ष चेत नारायण आचार्यले यस्ता सामाजिक अभियानले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष सहयोग पुग्ने बताउँदै संस्थाको कार्यको प्रशंसा गरे ।
कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय अध्यक्ष कृष्णबहादुर राउत, सन्दीप सापकोटा तथा सन्तोष बन्जाडे अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन रुद्रप्रसाद खनालले गरेका थिए भने अध्यक्षता गौरव खनालले गरेका थिए ।
यसैबीच, संस्थाले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षालाई सहयोग गर्ने उद्देश्यले निर्मल ज्योति सुस्त मनस्थिति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक तथा दैनिक प्रयोगका सामग्री पनि हस्तान्तरण गरेको जनाएको छ ।
त्यसैगरी, पहिलो पाइला नेपाल केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार अर्घाखाँचीमा संगठन विस्तारलाई तीव्रता दिँदै चिरञ्जीवी भुसालको संयोजकत्वमा सन्धिखर्क शाखा विस्तारका लागि तदर्थ समिति गठन गरिएको छ ।
कार्यक्रमका अध्यक्ष गौरव खनालले पहिलो पाइला नेपालले शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका अभियानलाई निरन्तर अघि बढाइरहेको बताउँदै आगामी दिनमा पनि दुर्गम तथा विपन्न समुदायका बालबालिकालाई लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए। उनले समाज परिवर्तनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संस्थाले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका अनुसार शिक्षा, सामाजिक सेवा र संगठन विस्तारलाई सँगै अघि बढाउने उद्देश्यका साथ अर्घाखाँचीमा एकै चरणमा तीनवटा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।


