बुटवल। बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै वैधानिक रूपमा दर्ता भएका ई–रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका छन्।
बुटवल उपमहानगरपालिकामा दर्ता भएका ई–रिक्सा मात्र सञ्चालन गर्नुपर्ने मागसहित चालकहरू आज उपमहानगरपालिका कार्यालयमा दबाब दिन पुगेका हुन्।
उनीहरूले दर्ता बिना सञ्चालनमा रहेका ई–रिक्साले अनावश्यक प्रतिस्पर्धा बढाएको र आफ्नो रोजगारीमा प्रत्यक्ष असर परेको बताएका छन्। दर्ता नभएका रिक्सा सञ्चालनमा रोक नलगाएसम्म आन्दोलन जारी रहने आन्दोलनरत हरियाली यातायातका अध्यक्ष तथा ई–रिक्सा चालक कृष्णप्रसाद तिवारीले जानकारी दिनुभयो।
हाल बुटवलमा करिब १,५४० ई–रिक्सा दर्ता भएका छन्। तर दर्ता नभएका ई–रिक्साको संख्या अझ धेरै रहेको चालकहरूको गुनासो छ। यसअघि दर्ता भएका ई–रिक्सालाई मात्र सञ्चालन गर्न दिने सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै उनीहरूले आन्दोलन गर्नुपरेको बताएका छन्।
चालकहरूले उक्त सहमति कार्यान्वयन गर्न तथा दर्ता प्रक्रिया कडाइका साथ लागू गर्न माग गरेका छन्। दर्ता नभएका सवारी साधन सञ्चालन हुँदा नगरपालिकाको राजस्वसमेत गुमिरहेको उनीहरूको भनाइ छ।
आन्दोलनको क्रममा ई–रिक्सा चालकहरूले दिनभर बुटवल बजार क्षेत्रमा ठूलो संख्यामा र्याली तथा प्रदर्शन गरेका थिए।



