यसरी हुन्छ सेटिङमा भन्सार छली

by समतल अनलाइन

भैरहवा । भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ । सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला पारेको छ ।

भैरहवाका एक व्यापारीका अनुसार सामान आयात गर्दा गाडी भाडा उल्लेखि बिल (बिल्टी), भारतीय भन्सारको सिपिङ बिल र बिमा कागज आवश्यक पर्छ । आलु र प्याजको हकमा भने कर्मचारीले यी कागजपत्र नलिने गरेको ती व्यापारी बताउँछन् । कागज नहुँदा आफूहरूले नियमानुसार आयातित सामानको कुल मूल्यमा १२ प्रतिशत थप गरी त्यस बराबरको राजस्व बुझाउँदै आएको उनको भनाइ छ । भारतबाट प्याज निर्यात रोकिए पनि आलु निरन्तर छ ।

कुनै पनि सामग्री आयातमा भन्सारले त्यसको कुल मूल्यमा गाडी भाडा र बिमा शुल्क जोडेर त्यसबराबरको राजस्व लिने गर्दछ । बिल्टी, सिपिङ बिल र बिमा कागज नहुँदा भन्सारले कुल मूल्यको १० प्रतिशतका दरले गाडी भाडा र २ प्रतिशतका दरले बिमा गरी १२ प्रतिशत जोडेर त्यस बराबरको राजस्व लिने गर्दछ ।

रूपन्देहीका प्रकाशगंगा आलु भण्डारले एम नम्बर (प्रज्ञापनपत्र नम्बर) १३२४३०, ओम विन्दवासिनीले १८४०१, सहनबाज स्टोरले १४७८६३ र १४८६९६, अम्बे इन्टरनेसनलले १४८६८३, प्रकाश आलु भण्डारले १४८५४७ बाट आयात गरेको आलुमा भन्सारले कुल मूल्यमा १२ प्रतिशत जोडी त्यसबराबरको राजस्व लिएको पाइएको छ ।

सेटिङ मिलाएर काम गर्ने केही आयातकर्तालाई भने कर्मचारीले हचुवाका भरमा राजस्व तोकेको कागजातले देखाएको छ। हचुवाकै भरमा गाडी भाडा र बिमा शुल्क जोड्दा राजस्व स्वतः कम हुन्छ । अधिकांश आयातकर्ताले कागजात बुझाउन खोज्दा कर्मचारीले आवश्यक नरहेको भन्दै १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिँदै आएको ती व्यापारी बताउँछन् ।

सेटिङ मिलाउने व्यापारीले भारतीय भन्सार र भैरहवा भन्सारमा पेस गरेका बिललगायत कागजपत्र मेलसमेत नखाने गरेको दाबी स्रोतले गरेको छ । उनीहरूले भारतमा एउटा र भैरहवामा अर्को फर्मको बिल पेस गरेर काम गरिरहेका छन् ।

रूपन्देहीका श्री माहाकालेश्वर टे«डर्स (पान नम्बर ६०५१४०५०३), श्रुति ट्रेडर्स (६०६१९१५१७) र शुभगणपति टे«ड एन्ड सप्लायर्स (६१०७४५३५३) ले दुई वर्षदेखि सेटिङमा आलु, प्याज आयात गरेको स्रोतले बताएको छ । गत जुन २४ मा एम नम्बर ७९८५४ बाट आयात भएको आलु, प्याजका ४१ वटा गाडीमा ठूलो मात्रामा राजस्व छली गरेको प्राप्त प्रज्ञापनपत्रको प्रतिलिपिमा उल्लेख छ ।

रूपन्देहीको ओमसतिया गाउँपालिकास्थित शुभ गणपति टे«ड एन्ड सप्लायर्सले २ करोड ७९ लाख २ सय ११ रुपैयाँ ९५ पैसाको आयात गरेको थियो । त्यसमा गाडी भाडा र बिमा शुल्क न्यून राखेर राजस्व छलेको देखिएको छ । उसलाई कुल मूल्यको १२ प्रतिशत अर्थात् ३३ लाख ४८ हजार २५ रुपैयाँ ३४ पैसा गाडी भाडा र बिमा शुल्क जोड्नुपथ्र्यो ।

कर्मचारीले भने १.८७ प्रतिशतका दरले ५ लाख २२ हजार ९ सय ९८ रुपैयाँ ६ पैसामा मात्र जोडेका छन् । यसमा १०.०१ प्रतिशत अर्थात् २८ लाख १७ हजार ९ सय २१ रुपैयाँ कम राजस्व कर्मचारीले लिएका हुन् ।

यस्तै, सिद्धार्थनगर नगरपालिकास्थित श्रुति ट्रेडर्सले नोम्भेबर १ मा एम नम्बर १३५३१८ बाट २९ लाख ३९ हजार ६ सय ३३ रुपैयाँको आलु पाँच गाडी आयात गरेको थियो । कर्मचारीले ६० हजार ४ सय ९१ रुपैयाँ (२.०५ प्रतिशत) मात्र जोडेर राजस्व लिएका छन् ।

सिद्धार्थनगरकै श्री महाकालेश्वर ट्रेडर्सले नोभेम्बर ३ मा एम नम्बर १३६२१५ बाट ६ लाख ३५ हजार ३४ रुपैयाँको आलु एक गाडी भित्र्याएको थियो । त्यसमा कर्मचारीले २५ हजार ३ सय ८५ रुपैयाँ (३.९९ प्रतिशत) मात्र गाडी भाडा र बिमा शुल्क जोडेर राजस्व लिएको देखिन्छ ।

भन्सारमा गाडीमा आउने वस्तुअनुसार जाँच र निगरानी हुन्छ । जसका लागि रातो, हरियो र पहेंलो वर्ग छुट्याइएको छ । रातो भनेको भन्सार छली हुन सक्ने बढी जोखिम भएको वस्तु हो । पहेंलोमा आयातित वस्तुको कागजपत्र र आवश्यकताअनुसार सामग्री जाँच हुन्छ । हरियो वर्गमा आउने वस्तुको जाँच प्रायः हुँदैन । प्राप्त रातो र पहेंलो वर्गको प्रज्ञापनपत्रमा पनि आलु, प्याजको गाडीमा हचुवाका भरमा जाँच गरी राजस्व लिएको पाइएको छ । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like