सरकारी जग्गा व्यक्तिमा दर्ता गराउने १५ जनाविरुद्ध मुद्दा

by समतल अनलाइन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सुनसरीकै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गाको नक्साको धर्सा मेटाई व्यक्तिको नामको जग्गामा थपेको आरोपमा अख्तियारले सुनसरी नापी कार्यालयका कर्मचारीहरू योगेन्द्रप्रसाद यादव, कपालेश्वर राम र सुकदेव यादवविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले नापी कार्यालयमै बसेर काम गर्ने रमेश साह, जग्गाधनी रमेशकुमार श्रेष्ठ, आसमा खातुनविरुद्ध मुद्दा दायर गरेको छ । सबैमाथि ६ लाख रुपैयाँका दरले बिगो मागदाबी गरिएको छ ।

त्यसैगरी, अख्तियारले सडकको टेन्डर प्रतिस्पर्धामा कागजात केरमेट गरेको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख दिनेश अर्यालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अर्यालसहित लेखा प्रमुख जीवनाथ पोखरेल, इन्जिनियरहरू राजकुमार यादव र सञ्जीवकुमार साहविरुद्ध १९ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

टेन्डरको कागजात खोल्ने क्रममा भैरव कन्स्ट्रक्सन कम्पनी नयाँ बजारले पेस गरेको दररेटको अंक र अक्षर सच्याएको आरोपमा अख्तियारले उक्त कम्पनीका सञ्चालक सुरेशलाल श्रेष्ठ, गोपाल श्रेष्ठ र कम्पनीका प्रतिनिधि मोहनप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like